बर्खामा ४ महिना बन्द हुन्छ मेची पारिको नेपाली विद्यालय

मेची पारिको यो गाउँमा ५० परिवारको बसोबास छ । अधिकांश मानिसहरू राजवंशी, यादव, सन्थाललगायत आदिवासी समुदायका छन् । गाउँमा पढेलेखेका मानिस खासै छैनन् । अधिकांशले खेतीपाती तथा पशुपालन गरेर जीविका चलाउँदै आएका छन् ।

झापा । ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । यहाँ विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण बर्खाको समयमा शिक्षक विद्यालय पुग्न असम्भव हुँदा पढाइ प्रभावित भएको हो ।

विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल र कर्मचारी राजेश राजवंशीको घर मेचीवारि छ । हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारी बर्खाको भेलमा पौडी खेलेर मेची पारि विद्यालय पुग्न सम्भव छैन । ‘गत २५ साउनमै विद्यालय खुल्नुपर्ने हो’, विद्यालयका प्रधानाध्यापक थपलिया भन्छन्, ‘तर विद्यालय जानका लागि मेची नदीमा पुल छैन, कसरी पुग्ने ?’ बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाइ सुरु हुनेछ । सिमानाको नदी मेचीमा बर्खायाममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरूको बाध्यता हो । वैकल्पिक उपाय खोज्ने हो भने उत्तरतिर काँकडभिट्टा र दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नुपर्ने हुन्छ । उत्तर र दक्षिणतिरको २ वटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दुरी तय गर्नुपर्ने हुन्छ । भद्रपुरबाट जाँदा विहार र काँकडभिट्टाबाट जाँदा पश्चिम बंगालको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । यो विकल्प प्रयोग गर्न पनि असम्भव नै छ ।

‘विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर २ पटक रेखदेखका लागि पुगेको छु,’ प्रअ थपलिया भन्छन्, ‘अहिले मात्र होइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो ।’ २०५७ सालमा मेचीपारिको नेपालमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो । त्यसयता असारदेखि भदौ–असोजसम्म विद्यालयमा कुनै वर्ष पनि पठनपाठन हुन सकेको छैन ।

कक्षा २ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ११ विद्यार्थी छन् । साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा–१ मा रहेको ग्वाल बस्ती, शिशौ डाँगी र झाडु बस्ती भौगोलिक हिसाबले मेची नदीपारि रह्यो । अहिले ती ३ वटै गाउँ मेचीनगरको वडा–१५ मा पर्छन् ।
गाउँमा ५० परिवारको बसोबास छ । अधिकांश मानिसहरू राजवंशी, यादव, सन्थाललगायत आदिवासी समुदायका छन् । गाउँमा पढेलेखेका मानिस खासै छैनन् । अधिकांशले खेतीपाती तथा पशुपालन गरेर जीविका चलाउँदै आएका कारण शिक्षाको आवश्यकताबारेमा गाउँलेमा चेतनाको कमी छ ।

‘त्यो गाउँमा कक्षा २ सम्म पढ्ने उमेरका बालबालिका यति नै हुन्’, प्रअ थपलिया भन्छन्, ‘त्योभन्दा माथिको कक्षा पढ्न स्थानीय बालबालिका भारततिरै जान बाध्य छन्, केही मात्र मेची नदी तरेर वारिका विद्यालयमा पढ्न आउँछन् ।’
५ कट्टा जग्गामा बनेको पुरानो भवनमा विद्यालय सञ्चालित छ । विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको छ । विद्यार्थीका लागि पिउने पानीको प्रबन्धका लागि विद्यालय परिसरमा एउटा ट्युबेल गाडिएको छ । विद्यालयमा बिजुली बत्तीको व्यवस्था छैन ।

विद्यालय स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीयले मेची नदीमा पुलको माग गर्दै आएका छन् । मुलुकमा राजनीतिक व्यवस्था फेरियो, तर मेचीपारिको नेपाललाई सिंगो नेपालसँग जोड्न एउटा पुल त्यहाँ बन्न सकेको छैन । पछिल्लो २ दशकदेखि ती गाउँलाई जोड्न मेची नदीमा झोलुंगे पुल बनाउने आश्वासन सरकारले दिइरहेको छ । बल्ल यो वर्षको बजेटमा झोलुंगे पुलका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ ।

मेचीनगर–१५ का वडासदस्य वृक्षलाल राजवंशीले ५ लाख बजेटबाट झोलुंगे पुलका लागि डिपिआर तयार पार्ने कुरा सुनेको बताए । ‘हामी पुल चाहियो भनेर आवाज उठाइरहेका छौँ, तर अहिलेसम्म झोलुंगे पुलसम्म बन्न सकेको छैन,’ उनले भने ।

प्रतिक्रिया