
ढाका । बंगलादेश अल्पसंख्यक मानवअधिकार कांग्रेस (एचआरसिबिएम) ले अन्तरिम सरकारको कानुन व्यवस्थामा कुनै नियन्त्रण नरहेको जनाएको छ । उसले देशमा अल्पसंख्यकका विरुद्ध यौन हिंसाको खतरनाक लहर चलेको जनाउँदै हिन्दु, इसाई, बौद्ध र अन्य अल्पसंख्यक समुदायका महिला र बालबालिकाहरू निशानामा परेको बताएको छ ।
मानवअधिकार संगठन ऐन ओ सलिश केन्द्र(एएसके)को रिपोर्टको हवाला दिँदै एचआरसिबिएमले सन् २०२५ को पहिलो त्रैमासिकमा ३ महिनाभन्दा कम समयमा ३४२ बलात्कारको घटना आधिकारिक रूपमा दर्ता भएको जनाएको छ । जसमा ८७ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका युवती थिए ।
जसमध्ये ४० प्रतिशत पीडित ६ वर्षभन्दा कम उमेरका बच्चा रहेको रिपोर्टमा उल्लेख छ । त्यस्तै नाबालिगविरुद्ध सामूहिक बलात्कारको मामला पनि तीव्र रूपमा बढेको बताइएको छ । मानवअधिकार संस्थाका अनुसार वास्तविक संख्या हजारौँमा छ, जुन मौनता र डरका कारण सार्वजनिक भएका छैनन् ।
कानुन प्रवर्धन र तल्लो अदालतमा धार्मिक पूर्वाग्रहका आधारमा मुद्दाको निर्णय गरिन्छ, जसकारण मुद्दा दर्ता नहुने र आवश्यक परेकालाई न्याय मिल्दैन ।
रिपोर्टअनुसार अधिकांश मामलामा महिला र युवतीहरूको शीरविहीन शव भेटिएको छ । जसले बंगलादेशको क्रूरतालाई देखाउँछ । उसले अदालतले नभई भिडले न्याय दिइरहेको दाबी गरेको छ ।
कैयौँ मानवअधिकार समूहको आँकडालाई प्रष्ट पार्दैै रिपोर्टमा अगस्ट, २०२४ र मे, २०२५ बीच भएको हिंसामा १७४ मानिसको मृत्यु भएको उल्लेख छ । जसमा राजनीतिक कार्यकर्तादेखि लिएर साना कारोबारीसम्म छन् । यस्तै १५० बढी वकिललाई जेलमा राखिएको छ ।
प्रतिक्रिया