संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक, २०८० पारित भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकबाट विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित भएको हो । विधेयकको केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदले फरक मत दर्ज गराएका छन् ।

समितिमा माओवादी सांसदहरुले हाल कार्यरत बालविकास सहयोगीहरूलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने फरक मत राखेका छन् ।

त्यस्तै शहीद, बेपत्ता, घाइते तथा विपन्न परिवारका विद्यार्थीलाई आवास र पोसाकको समेत व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तो व्यवस्थाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनीहरुको भनाइ थियो ।

विधेयकमाथि सांसदहरु देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव, ज्ञानु बस्नेत, सुमना श्रेष्ठ र विना जैसवालले बालविकास र छात्रवृत्तिका बारेमा फरक मत राखेको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए । सभापति थापाले मन्त्रालयले स्वीकार गरेका विषय र भाषा मिलाउन समिति सचिवालयलाई निर्देशन दिए ।

प्रतिक्रिया