
काठमाडौं । तीन दिनसम्म सञ्चालन भएको विद्यालय स्वास्थ्य नर्स तालिम काठमाडौंको टेकु अस्पताल सम्मेलन हलमा सम्पन्न भएको छ । तालिममा दोलखाका पाँच नगरपालिका र गाउँपालिकाबाट आएका २३ जना नर्सहरूले सहभागिता जनाएका थिए ।
तालिममा किशोरावस्था स्वास्थ्य, मानसिक स्वास्थ्य, र मासिक धर्म स्वास्थ्य व्यवस्थापनबारे सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइयो । समापन समारोहमा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक प्रसाद तिवारीले विद्यालय स्वास्थ्य नर्सको भूमिका विद्यालय र समुदाय दुवैको स्वास्थ्य सुरक्षासँग जोडिएको बताए ।
उनले भने, ‘विद्यालय स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउन अद्यावधिक ज्ञान र व्यवहारिक सीप अपरिहार्य छ ।’ त्यसैगरी, हेयर नेपालका अध्यक्ष माधव जोशीले विद्यालय स्वास्थ्य नर्सहरुलाई ‘विद्यालय र समुदायबीचको स्वास्थ्य सेतु’ को रूपमा वर्णन गर्दै सिकेका सीपलाई विद्यालयस्तरमै कार्यान्वयन गर्न प्रेरित गरे ।
संस्थाका निर्देशक धनसिंह धामीले किशोरावस्था स्वास्थ्य र मासिक धर्म व्यवस्थापन जस्ता संवेदनशील तर महत्वपूर्ण विषयमा दक्षता अभिवृद्धि गर्नु विद्यालय स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने ठोस कदम भएको बताए ।
सहभागी नर्सहरुले तालिममार्फत प्राप्त ज्ञानलाई आफ्ना विद्यालयका विद्यार्थीहरुमा पुर्याउने मात्र नभई समुदायमै स्वास्थ्य सचेतना फैलाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया