
ढाका । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र संयुक्त राष्ट्रसंघको उच्च अधिकारीका रुपमा काम गरिसकेकी उनकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ गरेको छ ।
सुनुवाईका क्रममा भ्रष्टाचार निरोधी आयोग (एसीसी) का तीन जना अधिकारीहरुले राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटहरुको कथित भूमि हडप्ने तीन अलग–अलग मुद्दाहरुमा आरोपहरू पढेर सुनाएका थिए ।
हप्तौँको विद्यार्थी आन्दोलनको बलमा हसिनामाथि राजनीतिक दवाव परेपछि सन् २०२४ अगष्ट ५ मा हेलिकप्टरबाट बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिनामाथि दर्जनौँ मुद्दामा संलग्न रहेको आरोप लागेको छ ।
उनले विद्रोहमा भएको घातक दमनलाई लिएर मानवताविरुद्धको अपराधको अभियोगमा आफ्नो छुट्टै र चलिरहेको सुनुवाईमा उपस्थित हुनेसहित भारतबाट फर्कने आदेशको अवहेलना गरेकी छन् ।
हसिनासहित उनका छोरा सजिब वाजेद जोय र नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्व एसिया प्रमुखका रूपमा कार्यरत छोरी साइमा वाजेदलाई भ्रष्टाचारको छ वटा अभियोगमा मुद्दा चलाइएको छ ।
‘यदि शेख हसिना, उहाँका छोरा सजीब र छोरी साइमा यस मुद्दामा दोषी ठहरिएमा १४ वर्षको जेल सजाय हुन सक्छ,’ एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले भने । वाजेद डब्ल्यूएचओको जिम्मेवारीबाट बिदामा रहेका छन् भने एक नयाँ अधिकारीले ‘अफिसर–इन–चार्ज’ को रुपमा पद ग्रहण गरेका छन् ।
हसिनासँग सम्बन्धित भ्रष्टाचारका ६ वटा मुद्दा दर्ता भएका छन् । अन्य मुद्दाहरुमा हसीनाकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकसहित उनका छोराछोरीको पनि नाम जोडिएको छ ।
गत जनवरीमा बेलायत सरकारका भ्रष्टाचारविरोधी मन्त्री सिद्दिकले राजीनामा दिएका छन् । सिद्दिकका वकिलले बेलायती सांसदमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् ।
प्रतिक्रिया