सार्वजनिक ठाउँमा टेलिकम कम्पनी बाहेकको वाइफाई बन्द हुने

इन्टरनेट कम्पनीले वाइफाई हटस्पट छोड्न नपाउने

काठमाडौँ । अब सार्वजनिक ठाउँमा टेलिकम कम्पनीबाहेक अरूको वाइफाई बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई हटस्पट सञ्चालन विनियमावली २०७५ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाबाहेकका अरू संस्थाले सार्वजनिक ठाउँमा दिइरहेको वाइफाई बन्द गर्ने गरी विनियमावली संशोधन भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अरू संस्थाले कुनै भवन वा भवनले ओगटेको घर कम्पाउन्ड, बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङमल, उद्यान, बगैँचालगायत सार्वजनिक ठाउँले ओगटेको निश्चित क्षेत्रफल भएको ठाउँमा वाइफाई सञ्चालन गर्न पाउनेछन् ।
प्राधिरकणले वाइफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा एक सूचना जारी गरेरै मोबाइल सेवाप्रदायकले मात्रै वाइफाई सेवा दिन पाउने र अरू सेवाप्रदायकले कानुनी व्यवस्थाअनुसार तोकिएको क्षेत्र र समयका लागि मात्रै एकपटकका लागि सेवा दिन पाउने उल्लेख गरेको छ ।

प्राधिकरणले ‘वाइफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को विपरित इन्टरनेट सेवाप्रदायकले यस्तो सेवा दिइरहेको गुनासोका आधारमा सार्वजनिक सूचना प्रकाशन गरेर उक्त चेतावनी दिएको हो । प्राधिकणले दूरसञ्चार सेवामा पहुँच विस्तार गरी सेवालाई सर्वसुलभ बनाउन यस प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवा वा मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले मात्र वाइफाईको माध्यमबाटसमेत सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी प्रदान गर्न सकिने उल्लेख गरेको छ ।

अन्य सेवाप्रदायक अर्थात आइएसपीको लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका सर्तअनुसार मात्रै वाइफाई हटस्पट सेवा सञ्चालन गर्न पाउँछन् । हाल प्राधिकरणबाट आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ भने मोबाइल सेवाको अनुमति नेपाल टेलिकम र एनसेलसँग मात्रै छ । आधारभूत टेलिफोन सेवाको अनुमति पाएको युटिएल भने सञ्चालनमा छैन ।

प्राधिकरणले हटस्पट विनियमावली २०७५ को विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाइफाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, विनियम ५ (१) अनुसार एकपटकको लग–इनबाट निश्चित समयावधि वा मात्राका लागि वाइफाई हटस्पट सेवा प्रयोग गर्न सक्ने व्यवस्था छ । यस्तो व्यवस्थाअनुसार सेवाप्रदायकले विनियम ५ को १ अनुसार एकपटकाको लगइनबाट निश्चित समयावधिलाई वाइफाई हटस्पट सेवा सञ्चालन गर्न पाइने व्यवस्था छ ।

यो प्रावधान विपरीत हाल इन्टरनेट सेवा प्रदायकहरूले आफूखुसी वाइफाई हटस्पट सेवा दिइरहेको छ । वाइफाई हटस्पट सेवामा वल्र्डलिंक अगाडि छ । यसले जताजतै फ्रिवाइफाई हटस्पट सञ्चालन गरेको छ भने यसको सेवामा एकपटक लगइन गरेपछि दोस्रोपटक आफैँ सञ्चालन हुने र समयवधि असीमित छ ।

सञ्चार मन्त्रालको निर्देशपछि दूरसञ्चार प्राधिकरणले वल्र्डलिंकसहितका इन्टरनेट प्रदायकहरूलाई कानुनविपरीत वाइफाई हटस्पट सञ्चालन नगर्न निर्देशन दिएको हो । प्राधिकरणले यो निर्देशनपछि अब वल्र्डलिंकका १४ हजार वाइफाई हटस्पटले तोकिएको सर्त पालना गरेर मात्रै सेवा दिन पाउने छ । अन्यथा प्राधिकरणले कारबाही गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया