काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेलप्रति सांसदहरूले नैतिक प्रश्न उठाएका छन् । आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले सर्वोच्च बार एसोसिएसन अध्यक्ष रहेकै बेला न्यायाधीश नियुक्ति सिफारिस भएकोप्रति असन्तुष्टि जनाएका हुन् ।
उनीहरूले यसले अधिवक्ताहरूप्रति गलत सन्देश जाने भन्दै बाँकी प्रक्रियाबाट अलग हुन आग्रहसमेत गरे । एमाले प्रमुख सचेतक महेश बर्तौलाले अधिवक्ताहरू पद पाउन जे पनि गर्छन् भन्ने मानक स्थापित गर्न खोजिएको भन्दै नियुक्ति प्रक्रियाबाट आफैँ बाहिरिन आग्रह गरे । ‘स्वविवेकी ढंगबाट यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ । योभन्दा अगाडि नजाने गरी बाहिरिनु,’ उनले भने ।
माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पोखरेल विगतमा राजनीतिक पक्षधरतासँग जोडिएको भन्दै आगामी दिनमा निष्पक्ष रहनेमा प्रश्न उठेको बताए । कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि न्यायाधीश हुन उच्च नैतिकता हुनुपर्ने भन्दै निर्वाचित भएको २ वर्ष नपुग्दै किन सर्वोच्चमा जानुप¥यो ? भनी प्रश्न गरे । ‘यसमा उच्च नैतिकताको कुरा छ । त्यो उच्च नैतिकतामाथि व्यवहारमा प्रश्नचिह्न ल्याउँछ कि ल्याउँदैन ?’
एमाले सचेतक सुनिता बरालले पनि अन्य प्रस्तावित न्यायाधीशहरू पनि राजनीतिक दलहरूसँग आबद्ध भएको सुनेको भन्दै न्याय सम्पादनमा शंका गर्ने प्रशस्त ठाउँ भएको बताइन् । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले न्यायालय व्यवस्थापिका र कार्यपालिकामा अस्वाभाविक रूपमा प्रवेश गर्ने गरेको बताए । यसले शक्ति पृथकीकरणको सिद्धान्तलाई उल्लंघन गरेको उनको तर्क छ ।
प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले कानुन व्यवसायीले पक्षधरतामै काम गर्नुपर्ने भन्दै न्यायाधीश भएपछि आफ्नो भूमिका परिवर्तन गर्ने बताए । ‘कानुन व्यवसायीहरूले एउटा न एउटाको पक्षमै काम गर्नुपर्छ । तर, न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन,’ उनले भने, ‘न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन भूमिका थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानुन र न्यायको पक्षमा अब्बल सावित गर्नेछु ।’
न्याय परिषद्ले गत २७ जेठमा पोखरेललाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो । आइतबार उनीसँगै श्रीकान्त पौडेलको पनि संसदीय सुनुवाइ भएको छ ।
प्रतिक्रिया