काठमाडौँ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ७२ जिल्लालाई अमेरिका, चीन र भारतलाई भाडामा दिए हुने गैरजिम्मेवार अभिव्यक्ति दिए । प्रतिनिधिसभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले ५ जिल्लामा मात्रै बजेट बढी केन्द्रित गरेले अन्य जिल्लाको विकास कसले गर्ने भन्ने आशय व्यक्त गर्न डा. सिंहले यस्तो बताएका हुन् ।
‘५ वटा जिल्ला भाग्यमानी जिल्ला हुन् । यी जिल्लामा धेरै बजेट परेको छ । यी बाहेकका ७२ जिल्लालाई अमेरिका, चीन, भारतलाई लिजमा दिए हुन्छ । होइन भने सबै जिल्लामा समान बजेट जानुपर्दैन ?,’ डा. सिंहले भने । उनले यस्तो बताएपछि एमाले मुख्य सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाए । सांसद सिंहले राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र उनीमाथि कारबाही गर्न बर्ताैलाले माग गरे ।
बर्ताैलाको मागपछि सभामुख देवराज घिमिरेले सांसद सिंहलाई सचेत गराए । तर, सभामुख घिमिरेले सचेत गराउँदा पनि उनले विमति राखेपछि उनलाई निर्धारित विषयमा बोल्न वा संसद्को रोस्ट्रम छाडेर हिँड्न निर्देशन दिए, र डा. सिंहको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन पनि निर्देशन दिए ।
अहिले देशको संघीय संसद् नै भाडाको भवनमा छ । संघीय संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मासिक १ करोड ५० लाख रुपैयाँभन्दा बढी भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिरहेको छ । सरकारले आफ्नै संसद् भवन बनाउन ठेक्का लगाए पनि पटक–पटक म्याद थप्दा पनि अझै निर्माण सम्पन्न भएको छैन ।
प्रतिक्रिया