काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ३ जनाउपर संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले शनिबारदेखि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापाको सुनुवाइ सुरु गरेको हो ।
समितिले प्रस्तावित न्यायाधीशहरूमाथि उजुरी आह्वान गर्न सञ्चारमाध्यममार्फत् सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । ‘प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समितिसमक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यममार्फत् संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु,’ समिति सभापति ईश्वरीदेवी न्यौपानेले भनिन् ।
समावेशिता ख्याल नगरेकामा सांसदहरू असन्तुष्ट
न्याय परिषद्ले न्यायाधीश सिफारिस गर्दा समावेशितालाई ध्यान नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूले समावेशितालाई ध्यान नदिइएको विषय न्याय परिषद्लाई समितिमै बोलाएर सोध्नुपर्ने बताए । कांग्रेस सांसद जीवन परियारले न्यायाधीश सिफारिस गर्दा समावेशिता नहेरिएको भन्दै समितिले न्याय परिषद्का व्यक्तिहरूलाई बोलाएर छलफल गर्नुपर्ने बताए ।
त्यस्तै, जसपा नेपालका सांसद प्रकाश अधिकारीले पनि समावेशिताको विषयमा पटक–पटक कुरा उठाउँदा पनि नसुनिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले समावेशिताका लागि सरकारले ध्यान नदिएको उल्लेख गरे । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पनि समावेशिताको कुरामा न्याय परिषद्सँग छलफल गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया