गुटबन्दी हटाउन प्रत्यक्ष निर्वाचनबाट सभापति चुनौँ

गगन थापाको प्रस्ताव

काठमाडाैँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गुटबन्दी हटाउने हो भने क्रियाशील सदस्यहरूबाटै प्रत्यक्ष निर्वाचन गरी सभापति चुन्न प्रस्ताव गरेका छन् । आसन्न १५आँै महाधिवेशनमा गुटबन्दी अन्त्य गर्न भन्दै महामन्त्री थापाले क्रियाशील सदस्यबाटै सभापति चुन्न प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले भने, ‘कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन् । नयाँ थप्दा १२ लाख पुगे पनि सबैले सभापति चुन्न पाउने गरी जानुपर्छ ।’ अघिल्लो महाधिवेशनमा आफूले पनि गुटको नाम लिस्ट हेरेरै भोट हालेको स्वीकार गर्दै उनले आफ्नो प्रस्तावमा पार्टीका सबै साथी तयार भए गुटबन्दी अन्त्य गर्न सकिने जिकिर गरे ।

कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्यले छानेका महाधिवेशन प्रतिनिधिले सभापतिलगायत केन्द्रीय समिति चुनिँदै आएको छ । कांग्रेसमा खासगरी नवौँ महाधिवेशनदेखि गुटगत आधारमा प्यानल बनाएर चुनाव हुने गरेको छ । ‘हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ भने क्रियाशील सदस्य बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौँमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौं,’ महामन्त्री थापाले भने, ‘१२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ, उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ । तर, यत्रो प्रविधिको जमाना छ, किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने ? सीधै १२ लाखले सभापति छान्ने व्यवस्था गरौँ ।’

१४औँ महाधिवेशनमा कांग्रेसमा ४ हजार ३०० भन्दा बढी महाधिवेशन प्रतिनिधिले सभापतिलगायत पदाधिकारी चुनेका थिए । महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताउँदै सदस्यता नवीकरण सकिएपछि नयाँ क्रियाशील सदस्यता खोलिने जानकारी दिए ।

२०८३ मंसिरअगावै महाधिवेशन

महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन २०८३ मंसिरअगाडि नै हुनेमा आफू विश्वस्त रहेको बताए । २०८४ को चुनावपछि अधिवेशन हुन्छ भन्ने आशंका र भ्रम त्याग्न आग्रह गर्दै उनले सभापति शेरबहादुर देउवा, नेताहरू शेखर कोइराला, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने पनि अदालतले देखाइदिने भन्दै महाधिवेशन रोक्न नमिल्ने दाबी गरे ।

प्रतिक्रिया