कठिन आर्थिक अवस्थामा पढेर एयर इन्डियाको विमानमा एयर होस्टेस बनेकी मैथिली पाटिलले पनि गुमाइन् ज्यान

अहमदावादमा एयर इन्डियाको विमान दुर्घटना

एयर इन्डियाको विमान कार्यरत एयर होस्टेस मैथिली पाटिल । उनको सोही विमान दुर्घटनामा मृत्यु भइसकेको छ ।

काठमाडौं । गत बिहीबार भारतको अहमदावादमा एयर इन्डियाको विमान भयानक दुर्घटना हुँदा २४१ जनाको मृत्यु भयो । उक्त विमान दुर्घटनाले अहिलेसम्म पनि मृतकका आफन्तले शोक व्यक्त गरिरहेका छन् । दुर्घटनामा एयर होस्टेस मैथिली पाटिलले पनि ज्यान गुमाएकी छन् ।

‘हाम्री छोरीले कठिन परिस्थितिमा पढिन् र एयर होस्टेस बनिन्, यो दुर्घटनाले हामीलाई हल्लाएको छ’, मैथिली पाटिलकी एक घनिष्ठ साथीले यो कुरा बताइन् । मैथिली अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानकी चालक दलकी सदस्य थिइन् । बिहीबार भएको विमान दुर्घटनामा उनको पनि मृत्यु भएको छ ।

अहमदाबादमा भएको सो विमान दुर्घटनामा २४१ जनाको मृत्यु भयो । एयर इन्डियाले भनेको थियो कि विमानमा यात्रु र चालक दलका सदस्यहरूसहित २४२ जना सवार थिए, जसमध्ये २४१ जनाको मृत्यु भयो ।

केवल एक जना बाँचे । विमानमा १२ जना चालक दलका सदस्य थिए । उडानमा दुई पाइलट र १० जना कर्मचारी थिए । डीजीसीएका अनुसार, यो उडान क्याप्टेन सुमित सभरवाल र प्रथम अधिकारी क्लाइभ कुन्दरले उडाइरहेका थिए ।

मैथिली को बाल्यकालदेखि नै एयर होस्टेस बन्ने सपना

मैथिली पाटिल, जसले कठिन परिस्थितिमा आफ्नो पढाइ गर्दाको तस्विर

मैथिली पाटिल महाराष्ट्रको रायगड जिल्लाको पनवेल तालुकाको न्हावा गाउँकी बासिन्दा थिइन् । गत बिहीबार (१२ जुन) मैथिली अहमदाबादमा ड्युटीमा थिइन् । उनी मुम्बईबाट लन्डन जाने एयर इन्डियाको उडान नम्बर एआई–१७१ मा कार्यरत थिइन् । त्यसैले उनी मुम्बईबाट अहमदाबाद पुगिन् र ११ जुनमा ड्युटीमा सामेल भइन् ।

दिउँसो विमान दुर्घटनाको खबर पाउने बित्तिकै मैथिलीको परिवारमा चिन्ताले सतायो । मैथिलीको कुनै खबर नआएपछि उनीहरू अहमदाबादको यात्रा गरे । मैथिलीको परिवारमा उनका आमाबाबु, दुई दिदीबहिनी र एक भाइ छन् । मैथिली जेठी छोरी थिइन् ।

न्हावा गाउँको टीएस रहमान स्कूलबाट १२ कक्षासम्म पढेकी मैथिलीको बाल्यकालदेखि नै एयर होस्टेस बन्ने सपना थियो । उनको घरको आर्थिक अवस्था त्यती राम्रो थिएन । उनले सामान्य परिस्थितिमा आफ्नो पढाई पूरा गरिन् र त्यसपछि एयर इन्डियामा काम गर्न थालिन् ।

विद्यालयको पूर्व छात्रहरुको भेलामा मैथिली पाटिलको तस्विर (अगाडिको पङ्क्तिमा बायाँबाट दोस्रो)

दुर्घटनापछि मैथिलीको बारेमा कुरा गर्दै उनका आफन्त तथा न्हावा गाउँका पूर्वसरपञ्च जितेन्द्र म्हात्रेले भने, ‘मैथिलीले धेरै कम स्रोतसाधनमा आफ्नो शिक्षा पूरा गरिन् र एयर होस्टेस बनिन्, यो घटनाले हामीलाई स्तब्ध बनाएको छ, हाम्रो परिवारका केही सदस्य अहमदाबाद गएका छन्, हामी सरकार र प्रशासनलाई अनुरोध गर्दछौँ कि मैथिली त फर्कने छैनन् तर पनि परिवारलाई सहानुमूती मिलोस् ।’

मैथिली पाटिलका बुबा पनवेल नजिकै ओएनजीसीमा काम गर्छन् । मैथिलीका स्कूलकी प्राध्यापक (प्रिन्सिपल) डेजी पलले मैथिली पाटिललाई सम्झँदै भनिन्, ‘उनी धेरै शान्त, अनुशासित, बुद्धिमान र खुसी विद्यार्थी थिइन् ।’

पलले दुई महिनाअघि विद्यालयले पूर्व विद्यार्थीहरूलाई आमन्त्रित गरेको र त्यसपछि उनी त्यहाँ आएको स्मरण गरिन् । उनले विद्यार्थीहरूलाई मार्गदर्शन गरिन् र यस क्षेत्रमा करियर तथा भविष्यका अवसरहरूको बारेमा बताएकी थिइन् ।

विमान उडान भरेको केही समयमै दुर्घटना

बिहीबार एयर इन्डियाको उडान एआई– १७१ अहमदाबादबाट लन्डनको ग्याटविक जाँदै थियो । तर उडान भरेको केही समयमै विमान दुर्घटनामा पर्यो ।

विमान होस्टेलमा खस्यो । एक अस्पताल कर्मचारीले भने, ‘घटनापछि जताततै कालो धुवाँ फैलियो, त्यहाँ शवहरू लडिरहेका थिए, यो घटनाले मलाई २००१ को भूकम्पको सम्झना गरायो ।’

टाटा समूहले यस दुर्घटनामा गहिरो दुःख व्यक्त गरेको छ । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्टमा भनेका छन्, ‘उनको कम्पनीले दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ सहयोग गर्नेछ ।’

टाटा समूहले घाइतेहरूको उपचारको खर्च पनि बेहोर्ने स्पष्ट पारेको छ । चन्द्रशेखरनले बीजे मेडिकल कलेजको होस्टेल भवनको पुनः निर्माणमा सहयोग गर्ने पनि बताएका छन् ।– बीबीसी हिन्दी

प्रतिक्रिया