आन्तरिक द्वन्द्व समाप्त भएको सन्देश दिन बालेन–सुनिताबीच छलफल

असारभित्र बजेट ल्याउन बालेनको सहमति, कार्यपालिका र नगरसभा बोलाउने तयारी

काठमाडौँ । स्थानीय तहहरूले बजेट ल्याउन अब २ साता मात्र बाँकी छ । असार १० भित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट कार्यपालिकामा प्रस्तुत गर्नैपर्ने कानुनी व्यवस्था छ । तर, सबैभन्दा बढी बजेट ल्याउने र सबैले चासोका साथ हेर्ने काठमाडौँ महानगरपालिकाले भने आन्तरिक द्वन्द्वका कारण कार्यपालिका बैठकसमेत राख्न सकेको छैन, साथै महानगरमा अहिलेसम्म बजेटबारे कुनै छलफलसमेत भएको छैन ।

महानगरको बजेट अन्योलबीच बुधबार मेयर बालेन्द्र (बालेन) शाह र उपमेयर सुनिता डंगोलबीच लामै छलफल भएको छ । विशेष गरी बजेट निर्माणमा भएको ढिलाइ र महानगरभित्र पछिल्लो समय देखिएको आन्तरिक द्वन्द्वका विषयमा केन्द्रित रहेर २ जनाबीच छलफल भएको थियो । छलफलमा मेयर र उपमेयरसहित वडा–१७ का अध्यक्ष नवीन मानन्धर, वडा–३२ का अध्यक्ष नवराज पराजुली र वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोल पनि छलफलमा थिए ।

तर, बुधबारको छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । यस विषयमा गुरागाईं बुधबारको छलफल जनप्रतिनिधिहरूबीच सहमति जुटाउन भएकाले आफ्नो उपस्थिति नभएको र आफूलाई नबोलाइएको बताउँछन् । ‘बुधबार उहाँहरूबीच मात्र छलफल भएको हो । छलफलबाट केही सकारात्मक विषय आएका छन् । असार सुरु भएसँगै सबै स्पष्ट हुँदै जाने अपेक्षा छ,’ गुरागाईंले भने ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र उपमेयर सुनिता डंगोलसँग मेयर शाह असन्तुष्ट हुँदा अहिले महानगरको बजेट नै अन्योलमा छ । गुरागाईंलाई उपमेयर तथा वडाध्यक्षले जबरजस्ती कार्यालय भित्र्याएको तथा आफू निकट प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरेको विषयमा मेयर शाह असन्तुष्ट छन् ।

बुधबारको छलफलसँगै अहिले देखिएको आन्तरिक द्वन्द्व अन्त्य हुने महानगरका जनप्रतिनिधिहरूको अपेक्षा छ । मेयर बालेनसँगको छलफल सकारात्मक भएको र चाँडै नै कार्यपालिका र नगरसभा बस्ने वडाध्यक्ष नवीन मानन्धर बताउँछन् । ‘बजेट ल्याउन समस्या छैन, असारभित्र जसरी पनि बजेट ल्याउँछौँ । मेयर सा’बसँगको छलफल सकरात्मक भएको छ । अब असार लाग्नसाथ बजेटका सम्पूर्ण काम सुरु हुन्छ,’ मानन्धरले भने ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कम्तीमा पनि महिनाको एक पटक कार्यपालिका बैठक बस्नैपर्छ । तर, करिब ६ महिनादेखि बैठक बस्न सकेको छैन ।

असार १० भित्र बजेट आउने सम्भावना कम

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ मा स्थानीय तहले बजेट ल्याउनुपर्ने मिति तोकिएको छ । जसअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने हुन्छ । तर, यस पटक असार १० भित्र काठमाडौँ महानगरको बजेट आउने सम्भावना अत्यन्तै कम छ । चालु आर्थिक वर्षका लागि ३२ जेठ, २०८१ मै नीति तथा कार्यक्रम आएको थियो भने असार १० मा बजेट प्रस्तुत र असार २९ मा पारित भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ अनुसार पनि असार १० भित्र कार्यपालिकाबाट स्वीकृत गराई नगरसभामा बजेट पेस गरिसक्नुपर्छ । त्यसरी पेस भएको बजेटमाथि १५ दिनभित्र छलफलको काम सकेर छलफलबाट परिमार्जन गर्नुपर्ने नदेखिएमा सभामा ५ दिनभित्र पुनः पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्छ ।

महानगरको आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण गर्दै बजेट खाका र सीमा निर्धारण गरेपछि मात्र प्रमुख प्रशासकीय अधिकृतले विषयतगत शाखा, महाशाखादेखि वडा समितिलाई बजेटको सीमा तोक्नुपर्ने हुन्छ । तर, बजेट खाका र सीमा निर्धारण गर्ने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अहिलेसम्म बसेको छैन । उक्त समितिको संयोजक स्वयं मेयर बालेन हुन् ।

बजेट निर्माणको पहिलो चरणको रूपमा रहेको उक्त समिति नै निष्क्रिय हुँदा बजेटका अरू काम पनि सुरु हुन पाएको छैन । उपमेयर डंगोल संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पनि काम गर्न पाएको छैन । यसरी हेर्दा महानगरमा अहिलेसम्म बजेटसम्बन्धी कुनै पनि काम सुरु हुन सकेको छैन ।

‘बजेट भ्याक्युम हुँदैन’

बुधबार बालेनसँगको छलफलमा रहेका वडाध्यक्ष मानन्धर बजेट ल्याउने कुरामा बालेनसँग सहमति भएकाले असारभित्र नीति तथा कार्यक्रम र बजेट आउने बताउँछन् । मानन्धरले भने, ‘बजेट ल्याउने कुरामा सहमति भएको छ । छलफलमा पनि असारभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउने भन्नेबारे कुराकानी भएको थियो । अब असार लागेसँगै बजेट निर्माण प्रक्रिया सुरु हुन्छ, र असारभित्र नीति तथा कार्यक्रमसँगै बजेट पनि आउँछ ।’

बजेटको तयारीका लागि आफूहरूलाई कुनै पनि निर्देशन नआएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बताउँछन् । तर, आफूहरूले आन्तरिक तयारी गरिरहेकाले निर्देशन आउनासाथ काम अघि बढ्ने उनको भनाइ छ । ‘उहाँहरूले हामीलाई निर्देशन गर्नुभयो भने हामी चाँडोभन्दा चाँडो बजेट तयार गर्छौँ । हामी आन्तरिक तयारीमै छौँ । निर्देशन आउनेबित्तिकै थप काम हुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने, ‘असार १० नै नभनौँ, असारभित्र बजेट आउँछ । जे होस् बजेट भ्याकुम हुँदैन ।’

प्रतिक्रिया