प्रतिनिधिसभा बैठक सुरू हुनासाथ विपक्षी दलको विरोधपछि स्थगित

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ विपक्षी दलहरुले विरोध जनाएपछि आजको बैठक स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले प्रतिनिधिसभाको बैठक अवरोध गरेका हुन् ।

बैठक सुरू हुनासाथ विपक्षी दलका नेताहरु उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

उनले दलीय आधारमा बोल्न दिने बताए पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदले उठेर विरोध जनाएका हुन् ।

‘सभामुख देवराज घिमिरेले ‘सभा सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन अनुरोध गर्दछु’, उनले भने । तर प्रतिपक्षी सांसदहरू भने उठेर विरोध जनाइरहेका छन् । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको थियाे ।

तर विपक्षी दलहरुले विरोध जनाइरहेपछि सभामुख घिमिरेले आजको सबै कार्यसूची हटाएर बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने उनले जानकारी गराए । विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै केही दिन अघिदेखि प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया