काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।

गुरागाईंले चित्तबुझ्दो जवाफ नआएपछि निलम्बन गरिएको र उनले नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको बताए । चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए ।

प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन बताए ।

सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए । उपमेयर र वडाध्यक्षहरुसँग समेत उनको भनाभन भएको थियो ।

प्रतिक्रिया