नयाँ दिल्ली । भारतीय सेनापति अनिल चौहानले पाकिस्तानसँग गत महिना भएको ४ दिने तनावका क्रममा आफ्नो फाइटर जेट खसालिएको कुरा स्वीकार गरेपछि यसले नयाँ तरंग पैदा गरेको छ । आइतबार भारतका प्रतिपक्षी नेताहरू सेनापति चौहान र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रामक भएका छन् ।
विपक्षी दल कंग्रेस आईका अध्यक्ष मालिकार्जुन खड्गेले सर्वदलीय बैठकमा मोदीले ढाँटेको भन्दै आक्रोश व्यक्त गरे । मे महिनाको सुरुआतमा भएको सो तनावको समयमा ६ वटा जेट खसालेको दाबी पाकिस्तानले गरेको थियो । सो दाबीलाई भारतले अस्वीकार गरेको थियो ।
सिंगापुरमा जारी ‘सांग्रिला डाइलग’का दौरान त्यहाँ पुगेका भारतका सेनापति अनिल चौहानले अमेरिकी टेलिभिजन ब्लुमबर्गसँगको कुराकानीका क्रममा पाकिस्तानले भनेको जस्तो संख्या नै यत्ति भन्ने गलत भए पनि भारतीय विमान खसेको कुरा अस्वीकार गर्न सकेनन् । चौहानले ब्लुमबर्गमा दिएको अन्तर्वार्ता उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रकाशित गरे भने भारतका रक्षा विशेषज्ञहरूले यसलाई मोदीको गलत कूटनीतिको संज्ञा दिएका छन् । रक्षा विशेषज्ञ ब्रह्म चेलानीले चौहानलाई सिंगापुर पठाउनु नै गलत भएको बताए ।
चौहानले अन्तर्वार्ताका क्रममा पहिलो प्रहारमा भएको गल्ती तत्काल पत्ता लगाएका कारण त्यसको २ दिनपछि नै सफलतापूर्वक आक्रमण गरेको बताए । पाकिस्तानले भारतका ६ फाइटर जेट खसालेको दाबी गरेको थियो । पाकिस्तानी दाबीअनुसार यीमध्येका ३ फ्रान्सेली अत्याधुनिक राफेल जेट थिए । पाकिस्तानले फ्रान्समा निर्मित राफेललाई निस्तेज पार्न चीनमा बनेको लडाकू जेट जे–टेन प्रयोग भएको बताएको छ ।
अन्तर्वार्ताका क्रममा पत्रकारले सोधेकी थिइन्, ‘कम्तीमा एउटा जेट खसालिएको थियो, के यो सही हो ?’ चौहानको जबाफ थियो, ‘राम्रो कुरा त के हो भने हामीले आफ्ना रणनीतिक कमजोरीहरू पत्ता लगायौँ, त्यसलाई सच्यायौँ र २ दिनपछि कार्यान्वयन ग¥यौँ । त्यसपछि हामीले सबै जेट उडायौँ र लामो दुरीमा रहेका लक्ष्यहरूमा प्रहार ग¥यौँ ।’
पत्रकारले फेरि सोधेकी थिइन्, ‘पाकिस्तानले दाबी गरेको छ कि उसले भारतका ६ वटा लडाकू विमान खसाल्न सफल भयो, के त्यो सही हो ?’ यसको जबाफमा जनरल चौहानले भनेका छन्, ‘त्यो बिल्कुल गलत हो । तर, मैले भनेँ, त्यो बिल्कुलै महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा त के हो भने जेट किन खसे र त्यसपछि हामीले के ग¥यौँ । त्यो कुरा हाम्रा लागि धेरै जरुरी छ ।’
प्रतिक्रिया