विदेशी पर्यटक नेपाल घुमफिर गर्न आउँदा दुइटा फाइदा छन् । पहिलो नेपालको व्यापार व्यवसायसँगै अर्थतन्त्रमा वृद्धि । दोस्रो चाँहि नेपालको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार । हामी कहाँ विदेशीलाई पाहुना भन्ने गरिन्छ । पाहुनाको सत्कार गर्नु हामी नेपालीको दायित्व हो । विडम्बना, अहिले नेपाल घुम्न आउने विदेशी पर्यटकहरु जताजतै ठगीमा परिरहेका छन् । होटलदेखि व्यापार व्यवसायी, यातायात व्यवसायीहरुसम्मले उनीहरुलाई ठगिरहेका छन् । होटल व्यवसायीहरुले विदेशी भएको थाहा पाउनासाथ एक रात बसेकै ५ देखि १० हजार रुपैयाँसम्म असुल्ने गरेका छन् ।
अन्य व्यापारी तथा व्यवसायीहरु पनि ५ सय नपर्ने सामान हजारदेखि ५ हजार रुपैयाँसम्ममा विदेशीलाई बेच्छन् । यता, ट्याक्सी व्यवसायीहरु पनि विदेशी देख्नेबित्तिकै ५ सय रुपैयाँमा पुग्नेमा हजार २ हजार रुपैयाँसम्म असुल्छन् । विदेशी पर्यटकहरु नेपालका मठमन्दिर तथा प्राकृतिक सम्पदाबाट लोभिएर आएका हुन्छन् । त्यहाँ जाँदा पनि उनीहरुलाई ठगिन्छ । पूजाका सामग्रीहरु किन्दा व्यापारीहरुले दोब्बर पैसा लिन्छन् । विदेशीहरु नेपालमा एक्लै घुमफिर गर्न सक्दैनन् । गाइडको आवश्यकता पर्छ । अनि गाईडले पनि उनीहरुसँग चर्को पारिश्रमिक असुल्छन् ।
अर्कोतर्फ उनीहरुले सामान बोक्न सक्दैनन् । भरिया चाहिन्छ । भरियाले पनि उनीहरुसँग त्यत्तिकै महँगो शुल्क असुल्छन् । नेपालमा गरिबी छ र यो सबैलाई थाहै भएको विषय हो । तर, पछिल्लो समय विदेशीलाई देखेपछि जोकोही पनि माग्ने गर्छन् ।
विदेशीहरु कर तिरेर नेपाल आएका हुन्छन् । यहाँका सम्पदा घुमफिर गर्दा पनि कर तिर्नुपर्छ । दुर्भाग्य, कर तिरेका आएका विदेशीहरु ठगीमा पर्छन् । जसका कारण नेपालप्रति उनीहरुको धारणासमेत नकारात्मक बनिरहेको छ । कतिपय विदेशीले त नेपाल ठग र माग्नेहरुको देश हो पनि भन्न थालिसके । सरकार पनि विदेशीसँग ऋण ल्याएर देश चलाइरहेको छ । अनि जनता पनि विदेशी देख्नासाथ माग्न थालिहाल्छन् ।
अमेरिकाले नेपालमा ठूलो आर्थिक सहयोग गर्दै आएको थियो । सरकारीदेखि गैर सरकारी संघसंस्थालाई अमेरिकाले आर्थिक सहयोग पठाउँदै आएकोमा केही महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले घुमाउरो भाषामा नेपाल र नेपाली ठग हुन् भने । साथै, आफूहरुले पठाउँदै आएको आर्थिक सहयोग अब नदिनेसमेत घोषणा गरे ।
अमेरिका विश्वकै शाक्तिशाली देश हो । ट्रम्पले त्यसो भनेपछि नेपाललाई अनुदान सहयोग गर्दै आएका थुप्रै देश अब अनुदान नदिने निर्णयमा पुगेका छन् । अनि विदेशीले अनुदान नपठाउनेबित्तिकै सरकारले कसरी देश चलाउँछ ?
चाहे जनतालाई होस् या सरकारलाई । आफू केही नगर्ने, अर्कोको मेहेनत, परिश्रममा मोजमस्ती गर्ने । अनि आफ्नै परिवारले त आफ्नैलाई यस्तो गर्छन् भने सरकारले जनतालाई भेडा बाख्राझैं विदेशीलाई बेचेर बसिबसि खानु कुनै नौलो कुरा भएन ।
पहिला पहिला भनिन्थ्यो, नचिनेको मान्छेसँग बोल्नुहुँदैन । उनीहरुले दिएको खानेकुरा खानु हुँदैन । त्यस्ता मान्छेको पछि लागेमा भारत वा विदेशमा लगेर बेचिदिन्छ भनिन्थ्यो । अहिले त आफन्तले नै आफन्तलाई बेचिरहेका छन् । शत्रु खोज्न घरबाहिर जानु पर्दैन भनेझैं पछिल्लो समय दलाल वा मानव तस्कर खोज्न बाहिर जानै पर्दैन ।
रोजगारीका लागि आकर्षक मुलुक पठाइदिने नाममा ठगी गर्ने, युवती भएमा बेच्ने वा विदेश लगेर अलपत्र पारिदिनेसमेत गर्न थालिएको छ । जनता, सरकार र राजनीतिक दलमा कुनै फरक छैन । सरकार र दलहरु आफ्नो फाइदाका निम्ति विदेशीलाई देश बेचिरहेका छन् भने जनता आफ्ना परिवारलाई ।
रुषा थापा, भक्तपुर
प्रतिक्रिया