इँटाभट्टामा जिउँदै मान्छे जलाउने अफताब आलमलाई उच्च अदालतद्वारा सफाइ

काठमाडौँ । बम विस्फोट काण्डमा जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमले उच्च अदालत वीरगन्जबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।

अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै उनी कारागारबाट रिहा भएका छन् । पहिलो संविधानसभाको निर्वाचनका बेला बम विस्फोट गरी घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको भन्दै उनलाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च अदालत विरगन्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित ४ जना प्रतिवादीलाई सफाइ दिएको हो । उनीहरूविरुद्ध जिल्ला अदालत रौतहटले गत १३ वैशाख, २०८१ मा विष्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तब्य ज्यान कसुरमा जन्मकैदको सजाय फैसला गरेको थियो । उक्त घटनाको १२ वर्षपछि रौतहट प्रहरीले १९ असोज, २०७६ मा पक्राउ गरेको थियो ।

घटनामा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका घाइतेहरूलाई आलमले आफ्ना सहयोगीहरूसँग मिलेर हत्या गरेको आरोप थियो । प्रत्यक्षदर्शीका अनुसार, बम बनाउने क्रममा विस्फोट भएपछि घटना लुकाउन घाइतेहरूलाई इँटाभट्टामा जलाएको बयान दिएका थिए । १३ वैशाख, २०८१ मा रौतहट अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसबेला आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो । सहनी इँटाभट्टाका मुनसी थिए ।

आलमविरुद्धको मुद्दा के हो ?

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैत, २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । विस्फोटमा घाइते भएकाहरूलाई घटना लुकाउन जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ । प्रत्यक्षदर्शीले घाइतेहरूले बचाउन आग्रह गर्दा पनि जलाएको बयान दिएका थिए ।

घटनापछि प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेका थिए । ३० असार, २०६५ मा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मृत्युको पुष्टि नभएको भन्दै मुद्दा नचल्ने निर्णय गरेका थिए । पछि पीडितहरूले सर्वोच्च अदालतमा निवेदन दिएसँगै न्यायाधीश सुशीला कार्की र डा.भरतबहादुर कार्कीको इजलासले मुद्दा चलाउन आदेश दिएको थियो । १९ असोज, २०७६ मा आलम पक्राउ परे र कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी ३ मुद्दा दायर गरिएको थियो भने २९ कात्तिक, २०७६ मा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया