सेक्युरिटी प्रिन्टिङमा विकल पौडेल भ्रष्टाचारी ठहर

२ वर्ष कैद र साढे १३ करोड जरिमानाको फैसला

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले पौडेललाई प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको ठहर विशेषले गरेको हो । यो रकम दामासाहीले ३ प्रतिवादीबाट असुल्ने फैसला भएको छ । जसमा विकल पौडेलसँगै म्याक्स इन्टरनेसनल प्रालि र त्यसका सञ्चालक अकबर हुसेनबाट दामासाही हिसाबमा असुलउपर गर्नुपर्ने विशेषको फैसलामा उल्लेख छ ।

पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र दामासाहीले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिमाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ । अलग–अलग प्रिन्टिङ मेसिन खरिदमा ३० र ४६ करोड गरी कुल ७६ करोड विनियोजन भएकामा पौडेललाई २ छुट्टाछट्टै शीर्षको बजेटलाई एउटै प्याकेज बनाएर खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमबाहिर गएर एकै शीर्षकमा खरिद गरेको र ४० करोड ७५ लाख रूपैयाँ हानिनोक्सानी भएको ठहर अदालतको छ ।

पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो । उनीहरूलाई भने विशेष अदालतले सफाइ दिएको छ ।

अदालतको आदेशअनुसार ती प्रतिवादीहरूलाई कार्यकारी निर्देशक प्रतिवादी विकल पौडेलको निर्देशनअनुसार खरिद प्रक्रियामा संलग्न गराएको, उनीहरूको निर्णायक भूमिका नदेखिएको, खरिद प्रक्रियामा आफ्नो पदीय दायित्व बमोजिमको कार्यसम्म गरेको उल्लेख छ ।

प्रतिक्रिया