काठमाडौँ । गत बिहीबार भारतको ओडिसास्थित इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट कलेज) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्युबारे राष्ट्रियसभाले सरकारको ध्यानाकर्षण गराएको छ । वीरगन्जकी साह गत बिहीबार कलेजको होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
गत फागुन पहिलो साता पनि सोही कलेजमा अर्की नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको थियो । सो घटनाको सत्यतथ्य अझैसम्म सार्वजनिक हुन सकेको छैन । यही विषयमा आइतबारको राष्ट्रियसभामा सांसद्हरूले सरकारको ध्यानाकर्षण गराउँदै सत्यतथ्यको खोजी गर्नुपर्ने माग गरे । उक्त कलेजमा सरकारले तत्काल एनओसी स्थगित गरी नेपाली विद्यार्थीलाई रोक्न सांसद्हरूले माग गर । आकस्मिक र शून्य समयमा सांसदहरूले उक्त प्रकरणबारे प्रश्न उठाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले साह मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराए ।
प्रिशा साहको मृत्युको खबर पाएसँगै परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल सुरु गरे पनि त्यसबारे यथार्थ भने कलेज प्रशासन र राज्य सरकारद्वारा सार्वजनिक भएको छैन । अध्यक्ष दाहालले किट कलेजमा पटक–पटक एकै प्रकारका घटना दोहोरिनु दुःखद् भएको बताउँदै कूटनीतिक तहमार्फत् घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष दाहालले भने, ‘दुवै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनुपर्ने कारणको गहिराइमा गएर खोजी गरी घटनाको विषयमा निष्पक्ष सत्यतथ्य छानबिन गरेर छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’ त्यस्तै, सरोकारवाला मन्त्रीलाई यसबारे जबाफ दिन पनि उनले रुलिङ गरेका छन् ।
किट कलेजेको एनओसी बन्द गर्न माग
सांसदहरूले किट कलेजमा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने र विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन बन्द गर्नुपर्ने बताए । केआइआइटीमा विद्यार्थी असुरक्षित भएको, एकपछि अर्को छात्राको शृंखलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।
बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए भने नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साहले पनि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् ।
माओवादी केन्द्रकी गंगाकुमारी बेल्बासेले गत फागुनमा किटकै छात्रावासमा मृत्यु भएकी प्रकृति लम्सालबारे छानबिनबाट के देखियो भन्ने कुरा अहिलेसम्म जानकारी नगराइएको उल्लेख गर्दै एउटै शिक्षण संस्थामा बारम्बार त्यस्ता घटना दोहोरिनुको कारणबारे सरकारले विशेष खोजी गर्नुपर्ने बताइन् । त्यस्तै, नेकपा एसकी शाहले आत्महत्याको विषयलाई हल्का रूपले लिने गरिएको उल्लेख गर्दै एउटै शिक्षण संस्थामा २ नेपाली छात्राको अमूल्य जीवन गुमाएको विषयलाई सहजै आत्महत्या मान्न नसकिने बताइन् ।
गत फागुनमा सोही कलेजमा भएको प्रकृति लम्सालको आत्महत्या र त्यसपछिका घटनाले परिस्थिति असहज बनाएपछि गत फागुन ६ गते शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयले विज्ञप्तिमार्फत् एनओसी रोक्ने बताएको थियो । तर, अवस्था सहज भएपछि एनओसी स्थगितको विषय नै स्थगित भएको थियो । लम्सालको मृत्युपछि मन्त्रालयले भनेको थियो, ‘उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिनेछ ।’
प्रतिक्रिया