काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गत १७ गते बुधबार उक्त पार्टीका संरक्षक रेशम चौधरी पक्राउको कारण प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्ट जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।
आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सोही पार्टीका सांसद लालवीर चौधरीले समय लिएर बोल्दै यस्तो चेतावनी दिएका हुन् । नागरिक उन्मुक्तिबाट सरकारमा एक राज्यमन्त्री छन् ।
‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइयो’, चौधरीले भने, ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ, तर सरकारले जवाफ दिएको छैन, प्रधानमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौँ ।’
गत बुधबार नाउपा र सिके राउत नेतृत्वको जनमत पार्टीसँग हुने भनिएको एकताअघि रेशमलाई प्रज्ञा भवन परिसरबाटै पक्राउ गरिएको थियो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।
त्यसपछि पार्टी एकता नै स्थगित भएको थियो । चौधरीलाई सर्वोच्च अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि चौधरी पक्राउ परेका थिए ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपित रामचन्द्र पौडेलबाट यसअघि भएको आम माफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र काटेका थिए ।
प्रतिक्रिया