ओलीले बोलाएको बैठक प्रचण्डद्वारा ‘इग्नोर’

‘एजेन्डा तय गर्न मेरोमा आउनुस्, अनि बैठकमा आउँछु’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक ‘इग्नोर’ गरेका छन् । बिहीबार संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई साँझ ५ बजे प्रधानमन्त्री कार्यालय बोलाएका थिए ।

सभापति देउवा निर्धारित समयमै सिंहदरबार पुगेपनि अध्यक्ष प्रचण्ड भने बैठकमै गएनन् । सौर्य दैनिकसँग कुरा गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रकाश सिलवालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गर्न देउवा र प्रचण्डलाई बोलाइएको भए पनि प्रचण्ड अनुपस्थित भएको बताए । उनले प्रधानमन्त्री ओली र सभापति देउवाबीच भने केही समय छलफल भएको जानकारी दिए ।

उता, प्रधानमन्त्रीले बोलाउँदा नगएका प्रचण्डले भने औपचारिक छलफलअघि खुमलटारमै प्रधानमन्त्रीसहितको अनौपचारिक छलफल हुनुपर्ने जबाफ दिएका थिए । उनले यही विषयलाई आफ्नो अडान बनाएका थिए । जसकारण ५ बजेपछि प्रधानमन्त्री सचिवालयबाट फोन गर्दा व्यस्ताको जबाफ फर्काउन लगाए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा भन्दै प्रधानमन्त्री ओलीले बोलाएको बैठकप्रति प्रचण्ड सशंकित पनि थिए ।

बिहीबारको बैठकमा डाक्न प्रधानमन्त्री ओली स्वयंले प्रचण्डलाई फोन गरेका थिए । तर, प्रचण्डले भने शीर्ष ३ नेता सिंहदरबारमा बैठक बस्नुअघि के विषयमा छलफल गर्ने हो, त्यसबारे अनौपचारिक छलफल गर्न खुमलटार नै आउन प्रधानमन्त्रीलाई उल्टै निम्ता दिए । सचिवालयमार्फत् पनि प्रचण्डले शीर्ष नेताबीचको बैठकको एजेन्डामा आफूसँग अनौपचारिक रूपमा छलफल गरे मात्रै आफू बैठकमा आउन तयार रहेको सन्देश प्रधानमन्त्रीकहाँ पु¥याएका थिए ।

तर, प्रधानमन्त्री ओली आफूलाई भेट्न नगएपछि प्रचण्ड पनि ओलीले बोलाएको बैठकमा गएनन् । सौर्य दैनिकसँग कुरा गर्दै अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले अध्यक्षले अनौपचारिक रूपमा छलफल गर्न आफूलाई भेट्न आउन आग्रह गरे पनि ओली नआएपछि बैठकमा नगएको बताए ।

‘भेटघाट गर्ने कुनै सल्लाह भएको थिएन । टिआरसीको विषयमा छलफल अघि बढाउने भन्ने त थियो । प्रधानमन्त्रीबाट बोलावट भएपछि के विषयमा छलफल गर्ने हो र के निर्णय गर्ने हो भन्ने विषयमा अनौपचारिक छलफल गर्न आफूकहाँ आउन अध्यक्षले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो,’ आचार्यले भने, ‘तर प्रधानमन्त्री अनौपचारिक छलफलका निम्ति खुमलटार आउन तयार नभएपछि अध्यक्ष प्रचण्ड पनि सिंहदरबार जानुभएन ।’

ओलीले झुक्याएर फसाउने डर !

प्रधानमन्त्री ओलीले ३ नेताहरूको बैठकपछि सरकारबाट कुनै निर्णय गर्न सक्ने भयका कारण प्रचण्ड बैठकमा नगएका हुन् । यसअघि पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा शीर्ष ३ नेता बसेकै दिन मन्त्रिपरिषद् बैठक बसेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरिएको थियो । सो निर्णयमा प्रचण्डले कुलमानसँग टिआरसी साटेको आरोप लागेको थियो भने उनले प्रष्टीकरण नै दिनुपरेको थियो ।

यसपटक पनि आफूहरूसँगको छलफलपछि मन्त्रिपरिषद्बाट कुनै निर्णय हुन सक्ने र त्यसको ‘ब्लेम’ आफूलाई लाग्न सक्ने त्रासका कारण उनी बैठकमा नगएको आशंका गरिएको छ ।

प्रतिक्रिया