विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे ।
‘वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ, सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ, आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ’, उनले भने ।
कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्याउने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व(पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गरे । ‘हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ, त्यसकारण हरेक क्षेत्रमा नयाँनयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ’, उनले भने ।
प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्ने गरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राखे । ‘विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ, सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीका क्षेत्रमा कोशी प्रदेशमा प्रशस्त सम्भावना छन्, यहाँका जनता शिक्षित र मेहनती हुनुहुन्छ, त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, ‘म युवाहरूलाई भन्न चाहान्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस्, त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्नेछ ।’ विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गर्दै उनले ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय श्रम संगठनको मान्यता अनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराए । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।
प्रतिक्रिया