काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–०८२ को आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आर्थिक वर्ष २०८१–०८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यो अनुमान सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको कुल गार्हस्थ उत्पादन (जिडिपी)को आकार हो ।
तथ्यांक कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको छ । त्यस्तै, गत आर्थिक वर्ष २०८०–०८१ को अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब बराबर रहेको कार्यालयले जनाएको छ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८१–०८२ को आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३ दशमलव ९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४ दशमलव ६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष नेपालले ३ दशमलव ९९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान ३ दशमलव २८ प्रतिशत र गैरकृषि क्षेत्रको ४ दशमलव २८ प्रतिशत रहने तथ्यांक कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ३६ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आवमा प्राथमिक क्षेत्र ३ दशमलव २५, द्वितीय क्षेत्रको ४ दशमलव ६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।
निरन्तर २ आर्थिक वर्षमा नकारात्मक वृद्धिदर देखिएको उद्योग र निर्माण क्षेत्रमा यसवर्ष भने सकारात्मक वृद्धि देखिने अनुमान गरिएको छ । गत आर्थिक वर्ष उद्योग क्षेत्रमा २ दशमलव शून्य २ प्रतिशत र निर्माण क्षेत्रमा २ दशमलव २० प्रतिशतको ऋणात्मक वृद्धि देखिएको थियो । तर यसवर्ष उद्योग क्षेत्र ३ दशमलव ७८ प्रतिशत र निर्माण क्षेत्र २ दशमलव २१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा देखिने अनुमान गरिएको छ । विद्युत् क्षेत्रमा १३ दशमलव ८२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१–०८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय १७ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४६७ अमेरिकी डलर रहने संशोधित अनुमान रहेको छ । प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले कोभिड–१९ महामारी, जाजरकोट भूकम्प तथा बाढी पहिरोका कारण अघिल्ला वर्षहरूमा कमजोर देखिएको आर्थिक वृद्धिदरमा अहिले निरन्तर सुधारको गति देखिएको बताए ।
प्रतिक्रिया