सगरमाथा संवादको तयारी तीव्र

हिमाल र मानव भविष्यको चिन्तासँगै खाद्य सुरक्षा मुख्य प्राथमिकता

काठमाडौँ । विश्व समुदायलाई हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालबारे जानकारी दिन सरकारले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी तीव्र पारिएको छ । अगामी जेठ २ देखि ४ गतेसम्म (१६–१८ मे) अयोजना हुने विश्वस्तरीय सम्मेलन ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको मुद्दामा नेपालको अहिलेसम्मकै ठुलो आयोजना हो ।

सगरमाथा संवाद सचिवालयका सदस्यसचिव डा. महेश्वर ढकालले भव्य तयारी भइरहेको बताए । उनले भने, ‘हामीले विभिन्न देशका उच्च नेतृत्व, संघसंस्था प्रतिनिधि गरी ३०० जनाभन्दा बढी पाहुना बोलाएका छौँ । यद्यपि, राष्ट्र प्रमुखहरू को–को आउँदै छन् भन्ने विषय भने अझै तय नभइसकेको उनले बताए । सगरमाथा संवादमा हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू विश्व समुदायलाई जानकारी गराउन नेपालले ५ वटा विषय उठाउने तयारी गरेको डा. ढकालले जानकारी दिए ।

सगरमाथा संवाद सचिवालयका सदस्यसचिव डा. महेश्वर ढकाल

ढकालका अनुसार नेपालले हिमाल पग्लिँदै खोला धमिलो हुँदै समुद्री सतहसम्म असर परेको विषयलाई एकीकृत रूपमा उठाउने तयारी गरेको छ । यसअन्तर्गत हिमाल पग्लिन रोक्न के गर्ने ? स्थानीय तथा आदिवासी समुदायसँग कसरी मिलेर काम गर्ने ? उच्च पहाडी मुलुकहरूमा खाद्य सुरक्षाका लागि के गर्ने ? लगायत विषयमा विशेष छलफल हुनेछ । त्यस्तै, ग्रिन इनर्जीअन्तर्गत ल्याउन सकिने नीति तथा कार्यक्रम र त्यसको प्रभावबारे विस्तृत छलफल हुनेछ ।

त्यस्तै, नेपालले संरक्षण गरेको ३५ प्रतिशत वन, वन्यजन्तु, चराचुरुंगी तथा जैविक विविधताको कुरा पनि हिसाबकिताबमा राखिनुपर्ने विषयमा नेपालको तर्फबाट आवाज उठाउने तयारी गरिएको ढकालले बताए । आफूले कार्बन उत्सर्जन न्यून गरे पनि वैश्विक तापमान वृद्धिबाट बढी प्रभावित भएका कारण नेपालले पाउनुपर्ने न्यायको विषयमा यसअघि नै भइरहेका छलफल निरन्तर गर्ने तयारी छ । हिमालमा उत्पन्न भएको खतराका कारण बस्ती, सडकलगायतमा कति जोखिम छ भनेर विशेष छलफल हुनेछ ।

त्यस्तै, बालबालिका, जेष्ठ नागरिक तथा प्रभावित हुन सक्ने समुदायलाई विशेष जोड दिएर कार्यक्रम तय गर्ने गरी छलफल अगाडि बढाउने तयारी भइरहेको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव भविष्य’ विषयमा केन्द्रित रहने उक्त संवादले विश्वका नेता, नीति निर्माता र वातावरणविद्हरूका बीचमा बहस गराउने सरकारको तयारी छ । सर्वोच्च शिखर सगरमाथाको नामबाट नामकरण गरिएको यो कार्यक्रमलाई सरकारले जलवायु कूटनीतिका लागि कोशेढुंगा सावित गर्ने लक्ष्य र विश्वासका साथ काम गरिरहेको दाबी गरेको छ । जलवायु परिवर्तनले पु¥याएको हानिनोक्सानीको लेखाजोखा र हिमालको संरक्षणका सवालमा विभिन्न १२ वटा सत्रमा बहस हुनेछ ।


पहिलो दिन ‘पर्वतभन्दा पर : पर्वतलाई महासागर जोड्दै’ थिममा रहेर ४ वटा सेसन सञ्चालन हुनेछन् । हिमनदी संरक्षणको जरुरी, उच्च पहाडी भूभागलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका पहलहरू विषयमा सेसन चल्नेछ ।

दोस्रो दिन अर्थात् जेठ ३ गते दोस्रो थिम ‘ग्रिन इकोनोमीमा सशक्त भविष्य ः स्वच्छ ऊर्जाको उपयोग र पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सेसन सञ्चालन हुनेछ । हानिनोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपाय थिममा हिमालको जोखिम र मूल्यांकन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन विषयमा सेसन सञ्चालन हुनेछ ।

चौथो थिम मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माण ः लैंगिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी ४ वटा सेसन सञ्चालन गरिनेछ । क्षेत्रीय तथा विश्वव्यापी साझेदारी भनेर पाँचौँ थिममा विभिन्न क्षेत्रका विज्ञहरूले छलफल गर्नेछन् ।

तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागीहरूलाई सगरमाथाको अवलोकन गराउने कार्यक्रम छ । सो अवलोकनपछि १० बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ ।

ब्यानरसहितको झन्डा सगरमाथामा

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबीच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने तयारी छ । सगरमाथा संवाद लेखिएको लोगोसहितको झन्डा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाबाट फहराउने छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डा हस्तान्तरण गरिसकेका छन् । उनी त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ ।

बेलायतले सहयोग गर्ने

नेपालका लागि बेलायतका राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कही दिनअघि शिष्टाचार भेटवार्ता गर्दै नेपालले गर्न लागेको सगरमाथा संवादलाई बेलायतको सहयोग रहने बताएका छन् । उपराष्ट्रपति यादवले यो संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा संयुक्त अधिराज्यबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा रहेको बताएका थिए ।

सगरमाथा संवादमा मोदी नआउने

जलवायु परिवर्तन र वातावरणीय विषयमा आयोजना हुने विश्व सम्मेलन भएकाले यसमा भारतीय प्रधानमन्त्री मोदी स्वयंले चासो लिँदै नेपालको निम्तो स्वीकारेर आउन सक्ने सरकारको आकलन थियो । केही दिनअघि थाइल्यान्डमा सम्पन्न बिम्स्टेक सम्मेलनको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा नेपाल आउन मोदीलाई निम्तो दिएका थिए । तर, मोदीले आउन नभ्याउने जबाफ दिएको प्रधानमन्त्री ओलीले स्वदेश फर्केर बताए । त्यस समयमा आफ्नो युरोप भ्रमण तय भइसकेकाले मोदीले आउन नभ्याउने जबाफ दिएको ओलीले जानकारी दिएका थिए ।

प्रतिक्रिया