काठमाडौँ । जाजरकोटको सोतीमा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न २३ जनालाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ ।
उच्च अदालत सुर्खेतले २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २३ जनालाई जिल्ला अदालतको जन्मकैद फैसला सदर गरेको हो । न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जनाको जन्मकैद सदर गर्दै जातीय छुवाछूत कसुरमा दिइएको सजाय भने बदर गरेको छ ।
रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गर्दै जातीय भेदभाव तथा छुवाछूतमा २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना गरेको थियो । पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद भने सदर भएको हो ।
सोती घटनामा नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको हत्या भएको थियो ।
प्रतिक्रिया