मान्छे मारेर भागेको ३१ वर्षपछि फरार अभियुक्त पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा ३१ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । २०७६ सालमै जन्मकैदको फैसला सुनाइसकेका अभियुक्त दानबहादुर प्रधानलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले चैत ३१ गते आइतबार धुलिखेलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०५० साल वैशाख १६ गते साँझ काभ्रेपलाञ्चोकको साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ (हाल चौरीदेउराली गाउँपालिका–२) मा प्रधानले स्थानीय उत्तर बहादुर प्रधानमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनापछि दानबहादुर फरार रहँदै आएका थिए ।

यस घटनामा २०७६ साल माघ २८ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । तर फैसला सुनिनुअघि नै फरार भएकाले प्रहरी उनको खोजीमा सक्रिय थियो । अन्ततः आइतबार दिउँसो धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सोही दिन जिल्ला अदालतमा उपस्थित गराई कारागार कार्यालय धुलिखेलमा पठाइएको छ । पक्राउ परेका उनी ५७ वर्षका भइसकेका छन् । उनले २६ वर्षको उमेर उक्त घटना घटाएका थिए । उनको स्थायी ठेगाना साविक नाग्रेगागर्चे गाविस–९, हाल चौरीदेउराली गाउँपालिका–२, दूतीमा पर्छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दिएको जानकारी अनुसार लामो समयदेखि लुक्दै आएका फरार अभियुक्तलाई पक्राउ गर्न सफल हुनु प्रहरीको लगातारको निगरानी र सुराकी संकलनको परिणाम भएको छ ।

प्रतिक्रिया