बार्टरदेखि डिजिटल कारोबारको युगसम्म

इसापूर्व ७०० मा कागजी नोटको प्रचलन सुरु भएको थियो । २१औँ शताब्दीमा आइपुग्दा डिजिटल बैंकिङले यसअघिका सबैजसो मान्यतामा फेरबदल गर्दै आमूल परिवर्तन ल्याएको छ ।

काठमाडौँ । मानव सभ्यताको सुरुआती अर्थतन्त्रको विकास समानको बार्टर (सट्टापट्टा) गर्ने प्रणालीबाट भएको थियो । पैसाको प्रादुर्भावपूर्व सेवा अथवा सामानको बार्टरको विकल्पको रूपमा इसापूर्व ७७० मा धातु मुद्राको प्रचलन सुरु भएको ऐतिहासिक मान्यता छ । इसापूर्व ७०० मा कागजी नोटको प्रचलन सुरु भएको थियो । २१औँ शताब्दीमा आइपुग्दा डिजिटल बैंकिङले यसअघिका सबैजसो मान्यतामा फेरबदल गर्दै आमूल परिवर्तन ल्याएको छ ।

बैंककै इतिहास केलाउने हो भने पनि यो प्रणालीको सुरुआत इटालीबाट भएको मानिन्छ । मध्यकालीन समयमा इटालीमा धनाढ्यहरू पैसाको कारोबार गर्न बेन्चमा बस्ने गर्थे । ११आँै शताब्दीमा जहाजमा सुन र चाँदी लिएर हिँड्नेहरूका लागि यो व्यवस्थित भएन । यसकारण बिलिङ प्रचलन र सुरक्षित स्थानबाट कारोबारको सुरुआत भएको थियो । यो नै बैंकको स्थापनाको सुरुआती दिन हो ।

सन् १९६७ मा पहिलोपटक एटिएमको स्थापना भएको हो । पहिलोपटक लन्डनमा एटिएमको प्रयोग भएको थियो भने स्विजरल्यान्डमा पनि त्यसै वर्ष सुरु भएको हो । जोन सेफर्डले एटिएमको आविष्कार गरेका थिए । त्यसक्रममा सामान्य रेकर्डबाट बाहिर आएर सिपियुमा कारोबारमा केन्द्रित गर्न थालेका थिए ।
त्यसो त सन् १९८० को दशकमा मोबाइल बैंकिङको प्रचलन सुरु भएको हो । स्मार्ट फोनको आविष्कारसँगै मोबाइल बैंकिङ पनि सुरु भएको थियो । सन् १९८५ मा स्कटल्यान्डमा घरमा नै बसेर बंैकिङ सुविधा लिन सक्ने व्यवस्था मिलाइएको थियो ।

सन् १९९४ मा स्ट्यान्डर्ड क्रेडिट युनियनले पहिलोपटक वेबसाइट तयार पारेको थियो । यसलाई डिजिटल कारोबार र बैंकिङ इतिहासकै एउटा क्रान्ति मानिएको छ ।

सन् २००७ मा आइफोनमा बैंकको एप राख्ने प्रचलनको सुरुआत भएको थियो त्यसै समयबाट पोर्टेबल बैंकिङको सुरुआत मात्र भएन, बैंकमा धेरैको पहुँच पुगेको थियो । यसको एक वर्षपछि नै संसारलाई आर्थिक मन्दीले गाँजेको थियो । यसका बाबजुद यसले अनलाइन कारोबारलाई भने अप्ठेरो नपारेको अमेरिकन बैंकर्स एसोसिएसनले बताएको छ । सन् २०११ देखि अमेरिकाका मोबाइल एपहरूमा बैंकको प्रचलन सुरु भएको थियो ।

यसभन्दा अघि नै सन् १९७३ मा स्विफ्ट सिस्टमको प्रयोग भएको थियो । स्विफ्टअन्तर्गत विभिन्न १५ देशका २३९ बैंकहरू एकआपसमा कारोबार गर्न राजी भएका थिए । यसको साझेदारीका लागि सोसाइटी फर वल्र्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट)को स्थापना भएको हो । यसको केन्द्रीय कार्यालय बेल्जियममा छ ।

सन् १९७७ मा आएर स्विफ्टमा प्रयोग हुने क्युबरसम टेलेक्स प्राविधिलाई म्यासेजिङ प्रविधिले विस्थापित गर्यो । सन् २०२३ मा पुग्दा यो प्रविधि संसारका २०० भन्दा बढी देशमा पुगेर ११ हजार ५०० बैंकमा सेवा प्रदान गरेको थियो ।
प्रचलित डिजिटल बैंकिङ कारोबार

अहिले युपिआई, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र मोबाइल कारोबारहरू भइरहेका छन् । साथमा बैंकिङ कार्डमार्फत पनि प्रयोग हुने गरेका छन् । यस्ता कार्डमा डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड र भर्चुअल प्रिपेड कार्ड समावेश छन् ।

अथवा अर्को शब्दमा कन्ट्याक्टलेस पेमेन्ट सिस्टमको रूपमा पनि यसलाई लिइन्छ । यसको प्रचलन स्मार्टफोन भन्दा पहिले नै भएको हो । रेडियो विकिरण ऊर्जाको प्रयोगमार्फत हुने यो कारोबारमा कार्ड ट्याप गरेर नजिकैको काउन्टरसँग सम्पर्क गराइएको हुन्छ । अमेरिकामा भन्दा पहिले नै यो प्रणाली क्यानडा, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलियामा लोकप्रिय भएको थियो ।

कार्डमध्येको अटामेटेड टेलर मेसिन (एटिएम)को पहिलो स्वरूप सन् १९६७ मा लन्डनमा सुरु भएको थियो । बारक्लेज बैंकले पहिलोपटक एटिएमको सुरुआत गरेको थियो । यसैगरी, न्युयोर्कको केमिकल बैंकले सन् १९६९ मा यसको प्रयोग गरेको थियो । पहिलोपटक १९७२ मा पिनको प्रयोगको सुरुआत गर्ने बैंक भने लन्डनको लायक बैंक हो ।

युरोपमा कम्प्युटर तथा एसियामा मोबाइल अघि

सन् २०२४ को तथ्यांकअनुसार दक्षिण कोरिया मोबाइल बैंकिङ कारोबारमा सबैभन्दा अगाडि रहेको छ । दक्षिण कोरियामा ८० प्रतिशतभन्दा बढीले बैंकिङ कारोबारमा मोबाइल या स्मार्ट फोन प्रयोग गर्दछन् ।

नेदरल्यान्ड्स र स्विट्जरल्यान्डमा भने ५७ प्रतिशतले निजी कम्प्युटर तथा ल्यापटप प्रयोग गर्दछन् । कारोबारमा ल्यापटप या डेस्कटप तथा ट्याबलाइटको प्रयोग गर्ने स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोल्यान्ड र फ्रान्सलगायत युरोपेली देश छन् । मोबाइल बैंकिङ भने धेरै एसियाली क्षेत्रमा प्रयोग हुने गरेको छ । यसरी धेरै कारोबार हुने देशमा भारत र दक्षिण कोरियालगायत छन् । यसका साथै दक्षिण अमेरिकाको ब्राजिल र मेक्सिकोमा पनि मोबाइल बैंकिङको प्रचलन बढी छ ।

डिजिटल वालेट

डिजिटल बैंकिङको विकसित स्वरूप डिजिटल वालेटको स्वरूपमा पुगेको छ । अहिले संसारको नै डिजिटल वालेटको प्रचलन बढ्दो छ । मोबाइल एपमा नै वालेट राखेर निजी खाता खोलेर यो वालेट सञ्चालन गर्न सकिन्छ । यस्ता वालेटहरूले पनि ग्राहकलाई सिधै आफ्नो बैंक खातामा सम्पर्क गरेर रकम ट्रान्सफरको सुविधा दिएका छन् ।

डिजिटल मुद्रा

डिजिटल मुद्राको अर्थ इलेक्ट्रोनिक्स माध्यमबाट हुने कारोबार हो । डिजिटल मुद्राको स्वरूपलाई वर्गीकरण गर्ने हो भने यसका केही भिन्न स्वरूप पाउन सकिन्छ । केन्द्रीय बैंकबाट सञ्चालित हुने मूल डिजिटल मुद्राको स्वरूप हो । अर्को स्वरूप क्रिप्टोकरेन्सी हो । यसलाई भर्चुअल करेन्सी पनि भनिन्छ । सन् २०१७ देखि यसको व्यापक उपयोग भए पनि संसारका धेरै देशमा यो प्रतिबन्धित पनि छ ।

त्यसो त नियमित क्रिप्टोकरेन्सीकोे मूल्यमा देखिएको अस्थिरता अन्त्य गर्नका लागि स्टेबल क्वाइनको सुरुआत भयो । मार्च २०२५ मा क्वाइन मार्केटमा १९९ स्टेबल क्वाइन सूचीबद्ध भएका थिए ।

चुनौती

डिजिटल बैंकिङ प्रणालीका केही चुनौती पनि पक्कै छन् । यसको मूल चुनौती ग्रामीण क्षेत्रमा बढी छन् । यसको संरचनामा नै महानगरलाई केन्द्रित गरेर बनाइएको हो । अहिले पछिल्लो समयको मूल चुनौती डाटा ह्याक हुने तथा चोरीको सम्भावना बढेको छ । संसारमा नै बालबालिकाले बैंकिङ कारोबार भएको मोबाइल चलाएर अझ यसमा जोखिम बढेको छ । संसारमा केही ह्याकरका कारण डिजिटल कारोबार अझै पनि पूर्ण रूपमा सुरक्षित भएको छैन ।

सुरक्षित रूपले यसको उपयोग नगरेमा त यो खतरा नै हो । सुरक्षित रूपमा डिजिटल कारोबारको प्रयोग गर्दा पनि यदाकदा संसारमा नै तहल्का नै मच्चाउने ह्याकिङ भएका छन् । यसरी भएका ह्याकिङमा चर्चामा आएका कुख्यात ह्याकर इलियट गुन्टनको सधैँ चर्चा हुने गरेको छ ।

गुन्टनले त्यसपछि अपराधको शृंखला नै मच्चाएका थिए । डाटा मात्र होइन धेरै ठुलो रकम एउटा खाताबाट खर्को खातामा लैजाने काम उनले गरेका थिए । उनले क्रिप्टोकरेन्सीको कारोबारमा नै तहल्का मच्चिएका थिए ।

प्रयोग नगरौँ यी एप

अहिले सधैँ सञ्चार माध्यमले ५ एपका बारे जानकारी र सचेत गराउँदै आएका छन् । हामीले कारोबार गर्ने मोबाइल या डिभाइसमा ती एपहरू प्रयोग भएमा बैंकिङ कारोबार नै जोखिममा पर्ने सम्भावना बढी छ ।

ती एपहरूमा रिकभर ‘अडियो इमेज एन्ड भिडियो’ रहेको छ । यसैगरी सबैभन्दा जोखिमपूर्ण एपमा ‘कोडाइस फिस्केल २०२२’ हो । अर्को जोखिम रहेको मोबाइल एप ‘जेटर अथेन्टिफिकेसन’ हो । अर्को फाइल मेनेजर ‘स्मल लेटे’ हो । ‘माइ फिनान्स ट्रयाकर’ अर्को प्रमुख जोखिमपूर्ण एप हो ।

एपल र गुगलको प्रतिस्पर्धा

संसारमा प्रचलित डिजिटल कारोबार र अन्य व्यवसायमा सम्बद्ध पेमेन्टमा पनि एपल पे र गुगल पेका बीच संसारमा नै प्रतिस्पर्धा चल्ने गरेको छ ।
बैंकिङ कारोबार र यो पेमेन्ट सिस्टम अहिलेको समयमा आइपुग्दा सरल बनेको छ । साथमा ह्याकिङका कारण चुनौतीपूर्ण पनि छ ।

एआईको जमानामा डिजिटल बैंकिङ

आर्टिफिसियल इन्टलिजेन्स (एआइ)को विकाससँगै संसार अहिले नयाँ स्वरूपमा प्रवेश गरेको छ । सायद यसले गोप्यताका सारा मापदण्डलाई भंग गर्न सक्ने छ । एकातर्फ संसारकै अर्थतन्त्र प्रविधितर्फ उन्मुख भएको छ भने अर्कोतर्फ यसले जोखिम पनि उत्पन्न गरेको छ । पछिल्लो समय एआईको विकाससँग ‘हार्डवर्क’को मान्यतालाई ‘स्मार्टवर्क’ले विस्थापित गरेको छ ।

यस बीचमा बैंकिङ क्षेत्रमा पनि एआईको भूमिका अझ फराकिलो भएको छ । एआईमा सक्रिय बैंकहरूले कारोबारमा आफूलाई अग्रणी बनाएका छन् ।
पछिल्लो वर्ष मात्र केही बैंकलाई एआईले धेरै नै नाफा दिएको छ । बैंकिङ अर्थतन्त्रका ज्ञाता म्याक किन्सेका अनुसार एआईका कारण बैंकको वित्तीय मूल्यमा गत वर्ष ३४० अर्ब अमेरिकी डलरले वृद्धि भएको छ ।

बैंकको प्रकार अनुसार उनीहरूले एआईबाट लाभ लिएका छन् । रिटेल बैंकले यसलाई स्मार्ट रूपले प्रयोग गर्दै धेरै नाफा लिने पक्का छ भने क्षेत्रीय बैंकको नाफा ३० प्रतिसतको हाराहारीमा छ । पछिल्लो समय एआईले नै हरेक बैंकलाई आफ्नो ग्राहकको विवरण भेरिकेसन गर्नसमेत सहज भएको छ ।

त्यसैगरी बैंकले आफूलाई सुधार गर्नका लागि समेत एआईले सहज गरेको छ । हरेक बैंकका लागि आफ्नो कारोबारमा रहेका कमजोरीलाई हटाउने एउटा माध्यमसमेत एआई बनेको छ । यद्यपि एआइले व्यापार बढाएसँगै एआईका कारण खर्चमा पनि वृद्धि भएको छ । अहिले एआईको कारण गोपनीयतामा असर हुन सक्ने भएकाले सुरक्षा संयन्त्र बलियो भएको बैंकिङ एपको खाँचो अझ बढेको छ । पछिल्लो समय बैंकहरूले एपको सुरक्षाका लागि नै धेरै खर्च गर्ने गरेका छन् ।

एआईकै कारण बैंकहरू आफूलाई कानुनी सहयोग लिन पनि सफल भएका छन् । एआईलाई नै प्रयोग गरेर बैकहरूले अहिले मल्टिमिडिया कम्युनिकेसनलाई भरपर्दो बनाएका छन् । बैंकमा मानिसहरूको भौतिक उपस्थितिमा कमी ल्याउन यो सहयोगी माध्यम भएको छ ।

प्रतिक्रिया