सुन मात्रै होइन, लसुन तस्करीको पनि ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै नेपाल

काठमाडौँ । पछिल्लो समय कानुनका छिद्र खोज्दै विभिन्न वस्तु आयात–निर्यात तथा तस्करी गर्ने क्रम ह्वात्तै बढेको छ । नेपालमा पछिल्लो समय सुन, चाँदी, लसुन, केराउ, मरिच, लाइटरलगायतको तस्करी धेरै हुने गरेको छ । चीनबाट लसुन आयात गरेर भारततर्फ तस्करी हुने गरेको तथ्य नयाँ होइन । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चीन र भारतबाट लसुन आयात हुने गरेको देखिन्छ । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म)मा चीन र भारतबाट गरी नेपालमा ६ अर्ब ९६ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको छ । आयात हुनेमध्ये ठुलो मात्रा चिनियाँ लसुनको छ ।

८ महिनामा चीनबाट मात्रै ६ अर्ब ३० करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको ताजा लसुन आयात भएको छ । भारतबाट भने १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको आयात भएको तथ्यांक छ । ८ महिनामा चीनबाट ताजा लसुन ४ लाख ७८ हजार ९८३ क्विन्टल र सुक्खा लसुन २८ हजार क्विन्टल आयात भएको छ । यस्तै, भारतबाट १४ हजार ४४९२ क्विन्टल ताजा र १० हजार क्विन्टल सुक्खा र धुलो पारिएको लसुन आयात गरिएको छ ।

चालु आवको ८ महिनामा जापानमा मात्रै नेपाली लसुन निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट जम्मा सवा ९ क्विन्टल लसुन जापान निर्यात भएको छ । लसुनको अस्वाभाविक आयात भएको चर्चा चलेपछि तस्करहरू केही शान्त भएको देखिन्छ । पछिल्लो २ महिनामा आयात घटेको भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘आयात रोकिएको छैन, तर कम भएको छ । के कारणले कम भएको हामीलाई थाहा छैन ।’

किन बढ्यो लसुनको अस्वाभाविक आयात ?

नेपालमा यति धेरै मात्रामा लसुन आउनुमा नेपाली उपभोक्ताले धेरै प्रयोग भने होइन । धेरै आयात भएर नेपाली उपभोक्ताले सस्तोमा लसुन खरिद गर्न पाएका पनि छैनन् । मंगलबार कालिमाटी तरकारी बजारमा चाइनिज लसुन प्रतिकेजी ३२० रुपैयाँमा कारोबार भयो । उता भन्सारबाट टनका टन लसुन आउँदा नेपालमा मूल्य नघट्दा प्रश्न उब्जिएको छ । नेपाल आएको लसुन कहाँ जान्छ भन्ने जबाफ सरकारी निकायसँग छैन ।

भारतीय बजारमा चिनियाँ लसुनको माग उच्च रहेको र मूल्य पनि धेरै रहेका कारण तस्कर गिरोहले चीनबाट लसुन आयात गरी नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । आयातित लसुनको ठुलो हिस्सा तस्करीमार्फत् भारततर्फ जाने भएकाले नेपाली उपभोक्ताले लसुन महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै लसुन तस्करी व्यापक हुने गरेको स्थानीय बताउँछन् । समुदाय तथा अन्य सरकारी निकायको सहयोगबिना सुरक्षाकर्मी एक्लैले तस्करी नियन्त्रण गर्न सम्भव नभएको प्रहरी बताउँछ ।

८ महिनामा ३०० क्विन्टल लसुन बरामद

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले मात्रै चालु आर्थिक वर्षको ८ महिनामा मात्रै करिब ३०० क्विन्टल लसुन बरामद गरेको छ । जसमध्ये नेपालबाट भारत लैजान लागेको अवस्थामा करिब १५० क्विन्टल लसुन रहेको बताइएको छ । सशस्त्र प्रहरी बलका अनुसार तराईका विभिन्न जिल्लाबाट बढी मात्रामा लसुन बरामद हुने गरेको छ ।

अघिल्ला वर्षहरूभन्दा चालु आवमा अवैध लसुन धेरै बरामद भएको हो । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ४२ क्विन्टल र आव २०८०/०८१ मा साढे २७ क्विन्टल लसुन बरामद गरेको थियो । जसमा निकासी तथा पैठारी (आयात) समावेश छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले पछिल्लो २ महिनायता लसुन बरमदका घटनामा कमी आएको बताए । उनले भने, ‘चाडपर्व दसैँ, तिहारको समयमा अवैध रूपमा ओसारपसार गरेको लसुन धेरै बरामद भए पनि पछिल्लो २ महिनायता कम छ ।’

तस्करी रोक्न सरकारले काम गर्नुपर्छ : कृष्णहरि बास्कोटा, पूर्वसचिव


एउटा मुलुकको सामान तेस्रो मुलुक हुँदै अर्कै मुलुकमा पुग्दा त्यसलाई तस्करी भनिँदैन । त्यसको निश्चित मापदण्ड तथा आयातकर्ता र निर्यातकर्ता प्रष्ट देखिएको हुन्छ । आफूले उत्पादन गरेको वस्तु निकासी गर्न पाइन्छ । कुनै देशमा तेस्रो मुलुकको वस्तु नेपाली उत्पादन हो भनेर बेच्नु तस्करी हो । नेपालबाट लसुन तस्करी भएको विषयमा म जानकार छैन । तर, वैधानिकता मिचेर काम गरिन्छ भने त्यस्तो काम कानुनसम्मत हुँदैन । यसरी तस्करी हुने गरेको हो भने त्यो रोक्नुपर्छ ।

सरकारले नै तस्करीलाई प्रोत्साहन गरिरहेको छ : हेमन्त मल्ल, पूर्वडिआइजी


नेपालका लागि चाहिने भनेर धेरै आयात गरेर भारत पठाउने चलन पहिलेदेखि नै छ । नेपालबाट केराउ, ल्वाङ, सुपारी, सुकमेल, लसुन, अदुवालगायत वस्तु तस्करी हुने गरेकै छ । देशलाई कति आवश्यक छ भनेर आयात अनुमति दिन छाडेर सरकारले मनलाग्दी आयात गर्न दिएकाले सरकारले नै तस्करीलाई प्रोत्साहन गरिरहेको पुष्टि हुन्छ । यसले व्यापार घाटा झन् बढाउने तथा अन्तर्राष्ट्रिय स्तरमा देशकै बेइज्जत हुने अवस्था आउन सक्छ । सरकारले समयमै होस नपुर्याउने हो भने अवस्था असामान्य बन्न सक्छ ।

प्रतिक्रिया