‘जन्ते बाख्रो’ जेठमा रिलिज हुने

काठमाडौँ । फिल्म ‘जन्ते बाख्रो’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय भएको छ । फिल्म २३ जेठबाट रिलिज हुनेछ । यो मितिमा अहिलेसम्म अन्य कुनै पनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

फिल्ममा सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिकामा छन् । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन् । उनीहरूको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

सिमोस सुनुवारको निर्देशित फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय छ ।

मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

सिनेमा हरि हुँमागार्इंको डिओपी, उत्तम हुँमागार्इंको सिनेमाटोग्राफी, सुनील शिवभक्तिको सम्पादन र रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वयं निर्माण कम्पनी मुइन इन्टरटेनमेन्टले नै राखेको छ ।

प्रतिक्रिया