काठमाडौँ । शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘डोरी’ अग्रिम टिकट बुकिङ खुला गरिएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधबारदेखि नै बुकिङ खुला गरेको हो ।
अन्य केही हलले पनि अग्रमि बुकिङ खुलाएका छन् । वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र सो संख्या यकिन हुनेछ । देशभर करिब १२० सो प्राप्त हुने उनको भनाइ छ ।
त्यसैगरी यस फिल्मलाई केन्द्रीय चलचित्र जाँचपास समितिले प्यारेन्टल गाइडेन्स (पिजी) सर्टिफिकेट दिएको हो । बुधबार साँझ यो चलचित्रको सेन्सर गरिएको थियो । अब यो चलचित्र १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।
चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण समेटेको छ । लामाले चलचित्रको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने दाबी गर्दै दर्शकले अपनत्व महसुस गर्ने अपेक्षा गरेका छन् ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निर्वाह गरेका छन् । प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नुतन, राज थापा, वीरेन्द्रसिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा हुन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् ।
प्रतिक्रिया