काठमाडौं । आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ दलको बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । सरकारले संसद अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश होल्ड भएको छ ।
सरकारले गत पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । यद्धपि, भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी भएको थियो । त्यसअगाडि १४ पुसमा सहकारी सम्बन्धी अध्यादेश ल्याएको थियो ।
यीमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक संसदमा बिचाराधीन छ । तर, भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृत समेत हुन सकेको छैन । यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयमा सत्तारुढ दलहरूको बैठकमा आज निर्णय भएको हो ।
बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी थिए ।
प्रतिक्रिया