५ देशको सहभागिता रहने अन्तर्राष्ट्रिय व्यापार मेला २५ वैशाखदेखि

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी २५ देखि २९ वैशाखसम्म काठमाडौँमा हुने भएको छ । यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बंगलादेश, र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ १०औँ संस्करण हो । मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहनेछ ।

नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिनेछ ।

महासंघका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघहरूका उत्पादनहरू, साथै ४ पांग्रे र २ पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरू समेत राखिनेछ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ ।

मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निमार्णसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिनेछन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफलसमेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरू जस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया