काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना (साउन–फागुन)मा ४४ अर्ब ६६ करोड प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता स्वीकृत भएकोे छ । उद्योग विभागका अनुसार फागुन मसान्तसम्म ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४०० रुपैयाँ बराबर एफडिआई स्वीकृत भएको हो । यो गत आव सोही अवधिको दाँजोमा साढे १५ अर्बले धेरै हो ।
गत आव फागुन मसान्तसम्म २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबर एफडिआई स्वीकृत भएको तथ्यांक छ । यस वर्ष अप्रुभल रुटबाट ४१ अर्ब ९० करोड र अटोमेटिक रुटबाट २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ बराबर एफडिआई स्वीकृत भएको हो ।
यस वर्ष फागुनमा मात्र सबैभन्दा धेरै १७ अर्ब ७९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको देखिएको छ । यस महिना ४० उद्योग दर्ता भएको देखिएको छ । योसँगै ८ महिना अवधिमा कुल ४२७ उद्योग दर्ता भएका छन् । कुल वैदेशिक लगानी प्रतिबद्धता ५ खर्ब ६४ अर्ब ४० करोड रुपैयाँ बराबर पुगेको छ । अहिलेसम्म कुल ६ हजार ८२५ उद्योग दर्ता भएको समेत विभागको तथ्यांक छ ।
यस वर्ष स्वीकृत भएको एफडिआइमध्ये साना उद्योगमा लगानी केन्द्रित देखिन्छ । उद्योग विभागका अनुसार फागुनसम्म ४१५ साना उद्योग दर्ता भएका छन् । मझौला उद्योग ८ र ठूला उद्योग ४ वटा मात्र दर्ता भएका छन् । फागुनमा दर्ता भएकामध्ये ३९ साना र एउटा मझौला छन् ।
नेपालमा एफडिआइको आकर्षण पर्यटन र सूचना–प्रविधिमा अधिक देखिएको छ । उद्योग विभागका अनुसार यस वर्ष स्वीकृत एफडिआइमध्ये पर्यटनमा १८० उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता उद्योगको ४२ प्रतिशत हो । त्यस्तै सूचना प्रविधिमा १५४ उद्योग दर्ता भएको देखिन्छ । जुन ३६ प्रतिशत हो । सेवा उद्योग ५४, उत्पादनमूलक ३०, कृषि ७ र ऊर्जा र पूर्वाधारमा १–११ उद्योग दर्ता भएको देखिएको छ ।
प्रतिक्रिया