पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

काठमाडाैँ । लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपानेको एकल सांगीतिक साँझ हुने भएको छ । पोखरामा २२ चैतमा हुने ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’ मा न्यौपाने गुन्जिनेछन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा आयोजना गरेको यो साँझमा गायक न्यौपानेले आफ्ना रूचाइएका गीतहरू लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।

दिउँसो ३ बजेदेखि सुरू हुने कार्यक्रममा उनले गीतमा सहकार्य गरेका केही चर्चित गायिकाले समेत न्यौपानेलाई प्रस्तुतिमा साथ दिनेछन् । थुप्रै चर्चित लोक तथा दोहोरी कलाकारहरूसमेत सहभागी हुनेछन् । आयोजक दोहोरी गीत प्रतिष्ठान सांगीतिक साँझको तयारीमा लागिसकेको छ । सांगीतिक साँझलाई भव्य बनाउने गरी आफूहरूले तयारी गरिरहेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् ।

प्रतिष्ठानले गत वर्षदेखि १ जना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो । गतवर्ष पहिलो कार्यक्रम काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।

प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले संस्थाको नारा नै अग्रजलाई सम्मान, नयाँ–प्रतिभालाई प्रोत्साहन रहेको बताउँदै अग्रजको सम्मानका लागि यसरी सांगीतिक साँझ कार्यक्रम गरिएको बताइन् ।
‘गत वर्षको कार्यक्रममार्फत हामीले केही हदसम्म सम्मान दिन सक्यौँ जस्तो लाग्छ’, उनले भनिन्, ‘यसपालिको कार्यक्रम पनि त्यस्तै भव्य हुने विश्वास छ ।’

गायक पुरूषोत्तम न्यौपाने ३ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । एक हजारभन्दा बढी गीतमा स्वर दिएका उनका ‘घामजस्तो चम्किलो जुन हुँदैन, सररर पानीघट्टामा, रून्छ नि मन किन रूँदैन, मिर्मीमुनि काली थुनेको, ढुंगेधारामा, झिलझिल सितारा, देउरालीमा धजा’ लगायतका गीत चर्चित छन् ।

गायक न्यौपाने वर्षौंदेखि पोखरा बसेर सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन् । सोही कारण पनि यसपालि काठमाडौँमा नभएर पोखरामा सांगीतिक साँझको आयोजना गरिएको दोहोरी गीत प्रतिष्ठानले जनाएको छ । पुरूषोत्तम न्यौपाने दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया