काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलप्रति लचिलो तथा प्यालेस्टाइनीमाथि पूर्वाग्रही भएको आरोप लागिरहेका बेला गत वर्ष कोलम्बिया विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागी अरब मूलका अमेरिकी ग्रिनकार्ड होल्डर पनि निसानामा परेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विद्यार्थी आन्दोलनका नेताहरूमध्ये एक ग्रिनकार्ड होल्डर महमुद खलिल पक्राउ परे । सन् १९९५ मा सिरियामा प्यालेस्टिनी बाबुआमाका सन्तानका रूपमा जन्मिएका खलिललाई अमेरिकी गृह सुरक्षा विभागको आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइसिई) टोलीले न्युयोर्क सिटीको सडकबाट पक्राउ गरेको थियो ।
खलिलका वकिलहरूका अनुसार न्युयोर्कबाट उनलाई हजार माइल टाढा लुसियानाको एक हिरासत केन्द्रमा स्थानान्तरण गरिएको हो । खलिललाई कुनै अपराधको आरोप पनि लगाइएको थिएन । खलिलकी अमेरिकी पत्नीका अनुसार प्रारम्भमा आइसिई टोलीले खलिलले कोलम्बिया विश्वविद्यालयका लागि विद्यार्थी भिसा गलत तरिकाले प्राप्त गरेको आरोप लगाएको थियो ।
खलिल ग्रिनकार्ड होल्डर भएको तथा भिसा लिइरहनुनपर्ने थाहा पाएपछि पनि अमेरिकी प्रशासनले खलिललाई अमेरिका बस्न अयोग्य ठहर गर्न खोजेको छ । खलिलले गत वर्ष भएको सो आन्दोलनको नेतृत्व गरेका थिए । खलिल सन् २०२३ देखि कोलम्बियामा अध्ययन गर्दै आएका छन् ।
खलिल ट्रम्पको ‘मेक अमेरिका ग्रेट एगेन’ अभियानसँग असहमत हुने आप्रवासीहरूका लागि चेतावनीको प्रतीक बनेका हुन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले खलिललाई ‘हमास आतंकवादीहरूको पक्षमा उभिएको’ आरोप लगाइन् । खलिलमाथि कोलम्बियामा पठनपाठन अवरुद्ध गरेको, यहुदी–अमेरिकी विद्यार्थीहरूलाई असुरक्षित बनाउने काम गरेको र हमासको पक्षमा प्रचार सामग्री बाँड्न संलग्न रहेको पनि आरोप लागेको छ ।
अमेरिकामा रहेका १ करोड २० लाखभन्दा बढी ग्रिनकार्ड होल्डरहरूलाई अमेरिकी संविधानको पहिलो संशोधनअनुसार सम्पूर्ण नागरिकसरह बोल्ने स्वतन्त्रताको अधिकार छ । ट्रम्पको पहिलो कार्यकालमा ग्रिनकार्ड होल्डरहरूलाई ‘बफादारी परीक्षण’ दिनुपर्ने प्रस्ताव गरिएको थियो । सन् २०१७ को फेब्रुअरीमा ७ वटा मुस्लिम बाहुल्य देशमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण केही ग्रिनकार्ड होल्डरहरू प्रभावित भएका थिए ।
त्यसबेला पनि अमेरिकी सीमामा ग्रिनकार्ड होल्डरहरूलाई उनीहरूको राजनीतिक विचारबारे सोधपुछ गरिएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सन् १९५२ को अध्यागमन तथा नागरिकता ऐनको एउटा दुर्लभ धाराको उपयोग गर्दै ‘अमेरिकामा बसोबास गर्ने कुनै पनि आप्रवासीको उपस्थिति वा गतिविधिले अमेरिकी विदेश नीतिमा गम्भीर प्रतिकूल असर पार्न सक्छ’ भन्ने प्रावधानअनुसार खलिलमाथि कारबाही अघि बढाइने बताएका छन् ।
रुबियोले पत्रकारहरूसँग भनेका छन्, ‘कसैले ग्रिनकार्ड पाउनु नै अधिकारजस्तै लाग्दैन ।’ उनले खलिलको मुद्दालाई अभिव्यक्ति स्वतन्त्रताको प्रश्नसँग जोड्न अस्वीकार गरे । अमेरिकी आप्रवासन अधिकारीहरूले न्युयोर्क सहरस्थित कोलम्बिया विश्वविद्यालयमा गत वर्ष भएको प्यालेस्टिनी समर्थित प्रदर्शनमा संलग्न अर्का कार्यकर्तालाई पक्राउ गरे ।
यसले ट्रम्प प्रशासन आप्रवासीविरुद्ध थप कडा नीति अख्तियार गर्ने पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ । शुक्रबार अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्यालेस्टिनी मूलकी लेखा कोर्डियालाई न्युयोर्कमा गिरफ्तार गरिएको छ । उनी वेस्ट बैंक निवासी हुन् ।’
गृह सुरक्षा विभागका अनुसार कोर्डियाको विद्यार्थी भिसाको समयसीमा नाघेको थियो । सन् २०२२ मा कक्षामा कम उपस्थित भएको भन्दै उनको भिसा रद्द गरिएको थियो । यद्यपि, उनी कोलम्बिया विश्वविद्यालय वा कुनै अन्य शैक्षिक संस्थामा अध्ययनरत थिइन् कि थिइनन् भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।
डिएचएसका अनुसार अप्रिल २०२४ मा कोर्डियालाई कोलम्बिया विश्वविद्यालयमा भएको विरोध प्रदर्शनमा भाग लिएबापत पक्राउ गरिएको थियो । यसै साता खलिलका समर्थकहरू न्युयोर्कको संघीय अदालतमा भेला भएर उनका वकिलहरूले उनको रिहाइको माग गर्दै मुद्दा दर्ता गरे । अदालतमा खुलेको तथ्यअनुसार खलिललाई गिरफ्तारीपछिका दिनमा एक्लै आफ्ना वकिलसँग कुरा गर्न दिइएको थिएन ।
ह्वाइट हाउसले थप विद्यार्थी प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्ने योजना बनाइरहेको बताइएको छ । कोलम्बिया विश्वविद्यालयलाई उनीहरूको स्थानबारे जानकारी दिन दबाब दिइएको छ । घटनापछि यसबारे धेरै प्रतिक्रिया उत्पन्न भएका छन् । कोलम्बिया विश्वविद्यालयका प्रोफेसर माइकल थेडसले उनको गिरफ्तारीका कारण आप्रवासी डिपोर्टको सम्भावना बढेको बताए ।
अमेरिकामा रहेका अवैध आप्रवासीहरू यसअघि नै त्रसित छन् । पछिल्लो घटनाले ग्रिनकार्डधारीहरू पनि अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापक निर्वासन अभियानको सिकार बन्न सक्ने संकेत गरेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रिनकार्डधारीहरूलाई सधैँ अमेरिका बस्ने अधिकार नरहेको बताएपछि आप्रवासीहरूमा तनाव थपेको छ । ‘ग्रिन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई सधैँ अमेरिकामा बस्ने अधिकार मिल्छ भन्ने होइन,’ भान्सले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन् ।
सामान्यतः ग्रिनकार्ड प्राप्त आप्रवासीले कानुनी रूपमै स्थायी रूपमा अमेरिका बस्न पाउँछ । यो कार्ड पाएका आप्रवासीलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न र काम गर्ने अधिकार हुन्छ । भान्सको अभिव्यक्तिसँगै युक्रेनी शरणार्थीहरू पनि ट्रम्पले अस्थायी रूपमा अमेरिकामा बस्ने अनुमति उल्ट्याउने हुन् कि भन्ने असमञ्जसमा परेका छन् ।
प्रतिक्रिया