विन्दाको सम्मानमा भाटभटेनी जोडिएपछि…

काठमाडौँ । अघिल्ला वर्ष जस्तै यो वर्ष पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ‘प्रभावशाली ५० महिला’ लाई सम्मान गरियो । सम्मानित हुनेमा एक थिइन्– एमाले नेतृ विन्दा पाण्डे । अनि सम्मान गर्ने कार्यक्रमको प्रायोजकमा थियो– भाटभटेनी सुपरमार्केट ।

एमाले नेतृ पाण्डे तिनै हुन्, जसले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दान दिएको करिब साढे ४ अर्बको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउने पार्टी निर्णयमा असहमति जनाउँदा पार्टी स्थायी समिति सदस्यको जिम्मेवारीबाट निलम्बनमा परेकी छिन् । ‘प्रभावशाली ५० महिला’ छान्ने आयोजक संस्था अनलाइनखबर डटकमले पनि पाण्डेले पार्टीभित्र लोकतन्त्रको पक्षमा आवाज उठाएको भन्दै प्रभावशाली महिलाको सूचीमा छनोट गरेको थियो ।

तर, सम्मान कार्यक्रमको प्रायोजकमा भाटभटेनी सुपरमार्केटको नाम आएपछि भने सम्मान नै ग्रहण नगरी पाण्डे कार्यक्रम स्थलबाट बाहिरिइन् । सम्मान कार्यक्रम चल्दै गर्दा उद्घोषकले पटक–पटक ‘यस कार्यक्रमको प्रायोजक भाटभटेनी पनि एक रहेको छ’ भनेपछि सम्मान ग्रहण गर्न गएकी पाण्डे कार्यक्रम स्थलबाट बाहिरिएको कार्यक्रममा उपस्थित एमाले केन्द्रीय सदस्य (हाल निलम्बित) उषाकिरण तिमल्सेनाले बताइन् । तिमिल्सेना पनि यही जग्गा दान प्रकरणको विरोध गरेपछि निलम्बनमा परेकी छिन् ।

तिमल्सेनाका अनुसार पाण्डेले ‘म यो सम्मान ग्रहण गर्न सक्दिनँ, जेका लागि लडेर यहाँसम्म आएँ, त्यही संस्थाले प्रायोजन गर्ने सम्मान ग्रहण गर्न सक्दिनँ’ भन्दै बाहिरिएकी थिइन् । तिमल्सेनाले भनिन्, ‘हामी कार्यक्रममा पुग्दा ‘स्पोन्सर बाई भाटभटेनी’ भनेर बजाइरहेको थियो । कार्यक्रम स्थलमा मीनबहादुर गुरुङ पनि हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘विन्दा दिदीले हामी मीनबहादुर गुरुङकै विरोध गरेर सस्पेन्टमा प¥यौँ । तिनै मीनबहादुर गुरुङले नै सपोर्ट गरेको कार्यक्रममा अवार्ड लिन मोरल्ली मिल्दैन, म यो लिन्नँ भनेर उहाँ निस्किनुभयो ।’

एमाले स्थायी कमिटी सदस्य रहेकी पाण्डेले पार्टी कार्यालय निर्माणका लागि व्यापारीसँग जग्गा लिने निर्णयको सामाजिक सञ्जालमा विरोध जनाएकी थिइन् । उनले उठाएको मुद्दालाई प्राथमिकतामा राखेर उनी देशकै प्रभावशाली ५० जना महिलामा परेकी थिइन् ।

२५ असोज, २०८१ मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली दम्पती र व्यापारी मीनबहादुर गुरूङ दम्पतीले कीर्तिपुर–२, मैत्रीनगरमा एमाले मुख्यालय भवनको शिलान्यास गरेका थिए । १० रोपनी १४ आना जग्गा र १ अर्ब मूल्य बराबरको मुख्यालय भवन निर्माण गरी हस्तान्तरण गर्ने घोषणासहित शिलान्यास गरिएको थियो ।

तर, गुरुङको दान स्वीकार्ने निर्णयप्रति पाण्डेले सामाजिक सञ्जालमार्फत् असहमति जनाएकी थिइन् । उनी जस्तै असहमति जनाउने अरू २ नेता थिए– डा. भीम रावल र उषाकिरण तिमल्सेना । एमालेले तीनै जनालाई १ साताको समय दिएर ६ कात्तिकमा स्पष्टीकरण सोध्यो ।

भीम रावलले स्पष्टीकरण दिएनन् । पाण्डे र तिमल्सेनाले १२ कात्तिकमा स्पष्टीकरण पत्र बुझाएका थिए । उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेतृद्वयलाई पार्टीले ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

प्रतिक्रिया