काठमाडौँ । पवन सर्राफको ब्याटिङ र रुपेश सिंहको सानदार बलिङसँगै मधेस प्रदेशले प्रधानमन्त्री कपमा सुखद् सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेसले कोसी प्रदेशलाई १६५ रनले हराएको हो । जारी प्रतियोगितामा कोसीको यो लगातार दोस्रो हार हो । यसअघि लुम्बिनी प्रदेशले कोसीलाई २६ रनले पराजित गरेको थियो ।
मधेसले दिएको २८५ रनको विशाल लक्ष्य पछ्याएको कोसीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनायो । रुपेश चम्किएपछि कोसीका ब्याटर खुलेर खेल्न सकेनन् । सकिब हकले सर्वाधिक २५ रन बनाए ।
४७ बल खेलेका उनले २ चौका प्रहार गरे । सुजन थपलिया २४, फिर्दोश अन्सारी २१ र दीपेश कँडेल २० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन छुन सकेनन् । ९ ओभर बलिङ गरेका रुपेशले २९ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । राजेश यादवले ३ विकेट लिँदा हरिशंकर साह र प्रदीप पासवानको नाममा समान १ विकेट रह्यो । त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको मधेसले ६ विकेट गुमाउँदै २८४ रनको योगफल तयार गरेको थियो ।
मधेसका पवनले सर्वाधिक ९२ रन बनाए । ८५ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । कप्तान अनिलकुमार साह ७५, हरिशंकर २९ तथा मंयक यादव र रुपेश १०–१० रनमा आउट हुँदा दिपेश दास ५६ रनमा अविजित रहे । कोसीका प्रकाश कार्की र विपिन महतोले समान २ विकेट लिए । दीपक डुम्रेको अर्धशतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ ।
मंगलबार सम्पन्न अर्को खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । गण्डकी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कर्णालीमाथि जित हात पार्दै पुनरागमन गरेको हो । कर्णालीको भने यो पहिलो हार हो । यसअघि कर्णालीले सुदूरलाई ७९ रनले हराएको थियो ।
कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो । गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए । ७८ बल खेलेका उनले ७ चौका प्रहार गरे । सुजन गौतमले अविजित रहँदै २२ रन बनाउँदा अन्यको ब्याटिङ राम्रो रहेन । कर्णालीका दिवस पुनले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, लमहीमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । कर्णालीका विपिन शाहीले सर्वाधिक २० रन बनाए । ५७ बल खेलेका उनले २ चौका प्रहार गरे । अर्जुन घर्ती १७, विपिन रावल १५ र हिमान्शु शाहीले १७ रन बनाउँदा अन्यको ब्याटिङ खराब रह्यो । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान २ विकेट लिए ।
प्रतिक्रिया