जसपाका नेता तथा पूर्वसांसद प्रमोद साह माओवादीमा प्रवेश

सर्लाही । जनता समाजवादी नेपाल (जसपा) का नेता एवं पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । शुक्रबार सदरमुकाम मलंगवाको कभर्ड हलमा आयोजित माओवादीको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ खबरदारी सभा कार्यक्रमको अवसर पारेर उनी माओवादीमा प्रवेश गरेका हुन् ।

नेता साहलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुलमाला तथा दोसल्ला ओढाएर पार्टीमा प्रवेश गराएका हुन् । नेता साह २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

पार्टी प्रवेशपछि मन्तव्यका क्रममा नेता साहले देशमा २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी भएको र देश र जनताको हितका लागि माओवादीले फरक राजनीतिलाई अँगालेकाले आफू माओवादीमा प्रवेश गरेको बताए ।

उनीसँगै ठूलो संख्यामा जसपा नेपालसहित विभिन्न दलका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित माओवादीको खबरदारी सभा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ बिहीबार बेलुकी सर्लाही आइपुगेका थिए ।

अध्यक्ष प्रचण्डसहित पार्टीका शिर्ष नेताहरुलाई सर्लाहीमा भव्य स्वागत गरिएको थियो । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ लिएर अध्यक्ष प्रचण्डसहितका नेताहरु अहिले मधेस दौडाहामा छन् । अभियान मधेसको हुलाकी राजमार्ग हुँदै अगाडि बढिरहेको छ ।

प्रतिक्रिया