सर्लाही । मिटरब्याज पीडित संघर्ष समिति भोजपुरा कमाण्डकी सहइन्चार्ज फतमा खातुन गम्भीर घाइते भएकी छन् । सहकारी सञ्चालहरुको आक्रमणमा परी खातुनको दाहिने हात भाँचिएको छ । भने निधारमा गम्भीर चोट लागेको छ । खातुनको सर्लाहीको नवलपुरस्थित जीवन लाईफलाईन हस्पिटलमा उपचार भइरहेको छ ।
सहकारी धनीहरुले खुकुरी, बञ्चरो, दाउराको चिरपट, लाठी र भाटा लगायतका घरेलु हातहतियारहरु प्रयोग गरि आक्रमण गर्दा खातुन लगायत संघर्ष समितिकै रामबाबु महतोको हात र सुरज महतोको खुट्टा भाँचिएको छ भने राजारोहण यादव पनि गम्भीर घाइते भएका छन् ।
सहकारी सञ्चालकले बिहीवार मिटरव्याज पीडित संघर्ष समितिमाथि खुकुरीलगायतका धारिलो घरेलु हातहतियार प्रहार गरेका थिए । सो आक्रमण परी चार जना गम्भीर घाइते भएका छन् । भने दुई दर्जनभन्दा बढीलाई चोटपटक लागेको छ । महोत्तरीको भंगहा नगरपालिका– ४ रामनगरमा सहकारीधनीहरुले मिटरव्याज पीडित संघर्ष समितिका पदाधिकारी र मिटरव्याज पिडितहरुमाथी आक्रमण गरेका थिए ।
भंगहा नगरपालिका– ४ रामपुरमा रहेको श्री नवदिप ज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश महतो र अन्य व्यक्तिहरु घुरन महतो, अर्जुन महतो र रामबाबु राम चमार लगायतको समूहले मिटरब्याज पीडित संघर्ष समितिका पदाधिकारी र मिटरब्याज पीडितहरुमाथि आक्रमण गरेका थिए । शान्तिपूर्णं आन्दोलनका क्रममा सहकारी धनिहरुले आक्रमण गरेको संघर्ष समितिका महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरि चार जिल्लाका अध्यक्ष मोहन महतोले जानकारी गराएका छन् ।
महतोका अनुसार, उक्त सहकारीले स्थानीय सुशिलादेवी, जानकी देवी र सुरेन्द्र महतोको २२ कट्ठा जग्गा कौडीको भाउमा लिलामी गरी हडपेका थिए । पीडितले सहकारीबाट लिएको ऋणको साँवा र ब्याज नियमित बुझाएको भए पनि केही साँवा र ब्याज तिर्न मात्र बाँकी हुँदा बलजफ्ती सहकारी धनिहरुले कौडीको भाउमा जग्गा लिलामी गरेको आरोप लगाएका छन् । फागुन २० गते लिलामीमा पारिएको र आफूहरुले जग्गा जोतिरहेको ठाउँमा गएर सहकारी धनिले जग्गा नजोत्नु भनेर चेतावनीसमेत दिएको बताए ।
बेचेर सहकारीको ऋण तिर्छु भन्न जाँदा जग्गाधनी श्रवण महतोको बाउछोरालाई पहिला पनि कुटपिट गरिएको थियो । त्यसपछि उनीहरुले मिटरब्याज पीडित संघर्ष समितिको गुहार मागेका थिए । घटनाबारे बुझ्न गएको संघर्ष समितिले सहकारी अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा सहकारी सञ्चालकहरुले हातहतियारसहित आक्रमण गरेको मिटर व्याज पीडित लघुवित्त संघर्ष समितिका सर्लाही, रौतहट, बारा र पर्सा गरि चार जिल्लाका प्रमुख इन्चार्ज तैयव मन्सुरले बताएका छन् ।
सहकारी सञ्चालकहरुले प्रहार गरेको ढुंगा लागेर आफू पनि घाइते भएको उनले बताए । आफूहरुमाथि खुलेआम घरेलु हातहतियार प्रयोग गरी आक्रमण हुँदा पनि प्रशासन मौन रहेकोप्रति उनले खेद प्रकट गरेका छन् । ‘आक्रमणकारीहरु खुलेआम हिँडिरहेका छन्, हामी घाइतेहरु मधेस प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा उपचाररत छौँ,’ उनले भने ।
प्रतिक्रिया