मुगुका दुई विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण

मुगु । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसंघ केन्द्रीय सदस्य धर्मराज शाहीले कर्णाली प्रदेशको विकट जिल्ला मुगुका दुईवटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति शैक्षिक सामग्री झोला वितरण गरेका छन् ।

मुगुस्थित सोरु गाउँपालिकाको– ९ कालैको विजय माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र झोला तथा वडा नम्बर ८ को बालज्योति निमावी गिलाहाँका विद्यार्थीहरुलाई झोला उपलब्ध गराएका हुन् । नेपाली कांग्रेस मुगुका पुराना नेता एवं उनका पिता दानबहादुर शाहीको नाममा गत वर्ष दानबहादुर शाही उत्कृष्ट शैक्षिक उपलब्धि पुरस्कारको घोषणा गरी अक्षयकोषको स्थापना गरिएको थियो ।

गत वर्षको एसईई परिक्षामा विजय मावी कालैबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेबमोजिम विद्यालयमा छात्रवृत्तिको रकम वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बीरबहादुर बमले नेविसंघको राजनीतिमा देशभर चर्चित नेताको छबी बनाएका शाहीले आफ्नो जन्मभूमिप्रति पनि देखाएको मायाले आफूहरु उनीप्रति धेरै नै आभारी र आशावादी रहेको बताए ।

उनले भने, ‘हाम्रो मुगु जिल्लामा आज सम्म कसैले पनि व्यक्तिगत लगानीमा अक्षयकोषको स्थापना गरी छात्रबृति र शैक्षिक सामग्री वितरण गरेको रेकर्ड छैन, तर उहाँले ठूलो हिम्मतका साथ विद्यार्थीहरुलाई सहयोग गरिरहनुभएको छ ।’

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य धर्मराज शाहीले गत वर्ष विजय मावी कालैमा मात्र भएको कार्यक्रम यो वर्षबाट बढाएर दुई वटामा लागू गरिएको र आगामी वर्षहरुमा पूरै सोरु गाउँपालिकाकै विद्यालयमा सहयोग गर्ने गरी अगाडि बढ्ने जानकारी गराए ।

उनले भने, ‘हामीले राजनीति जनताको सेवा गर्ने उदेश्यका साथ गरेका हौँ, जिल्लाको सर्वागिंण विकास गर्नका लागि शिक्षा क्षेत्रलाई पहिलो प्रथामिकता दिइनु पर्ने कुरालाई मनन गर्दै अक्षयकोषको स्थापना गरेका हौँ ।’ गत वर्ष आधा दर्जन नेविसंघका केन्द्रीय सदस्यहरु विकट जिल्ला मुगुको कालै गाउँमा पुगेर अक्षयकोषको स्थापना गरेका थिए ।

नेपाली कांग्रेस मुगुका नेता दानबहादुर शाहीले मुगु जिल्लाको भूमि आयोगमा सदस्य पदमा नियुक्त भएपछि आफूले प्राप्त गरेको परिश्रमलाई गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्न अक्षयकोष स्थापना गरिएको बताए । कार्यक्रममा नेविसंघका नेता शाहीसहित उनका पिता दान ब शाही, नेविसंघ केन्द्रीय सदस्य शिवलाल डाँगर, नेविसंघ नेता रामराज मल्ल लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया