द्वन्द्वकालमा हराएका छोरा खोजिरहेका वृद्ध आमाबाबु भन्छन्– छोरो फर्किने आसमै सास जाने भो !

महोत्तरी । बर्दिवास नगरपालिका–३, पाटुका रामबाबु कार्की बिहान सखारै उठेर आमाबाबुलाई ब्युँझाउँदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको आमा दुर्गाकुमारीको मानसपटलमा अझै ताजै छ ।

युद्धकालीन सो समयमा दुर्गाकुमारीले रेडियोमा बज्दै गरेको सेना र माओवादी लडाकूबीच भिडन्त भएको र मानिसहरू मरिरहेको समाचार परैबाट सुनिन् । समाचार सकिएपछि रामबाबु नजिकै आएर भने, ‘आमा, म ठुल्दाजुलाई भेट्न लमजुङ जान्छु ।’ रामबाबु केही दिनअघि मात्र काठमाडौँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिबेला गाउँमा युवाहरू कोही पनि थिएनन् । भएका पनि कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगिसकेको थियो । थोरै युवाले मात्र आर्मी, प्रहरीमा जागिर खाएका थिए ।

रामबाबुले जेठो दाजुलाई भेट्न बेसीसहर जाने जिद्दी गर्न थाले । यति टाढा उक्त भयावह अवस्थामा २२ बर्से कान्छो छोरालाई पठाउन आमाको मन पटक्कै मानेको थिएन । तर, छोराको जिद्दीको अगाडि दुर्गाको केही सीप चलेन ।

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो । प्रतिकूल वातावरणका बाबजुद दाजु गोविन्द कार्कीलाई भेट्न आमाबाबुसँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आउँदै गरेको समाचार थाहा पाएर कुरिरहेका दाजु कुरेको कुर्यै भए । भाइ न दाजुसँग पुगे, न फर्किएर घरै आए । दाजुलाई भेट्न भनेर हिँडेका रामबाबु २२ वर्षदेखि घर फर्किएका छैनन् । उनी कहाँ छन् ? कसरी हराए ? जिउँदै छन् कि छैनन् ? परिवारलाई चासो र चिन्ता त्यत्तिकै छ ।

८४ वर्ष पुगिसकेकी आमा दुर्गालाई छोरो फर्केर आउने आस मरिसकेको छैन । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि । कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थेँ होला,’ गहभरि आँसु बनाउदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थें ।’

रामबाबुका २ जना दाजु छन् । माइला दाजु मोहन कार्की रिटायर्ड नेपाल आर्मी हुन् भने जेठा गोविन्द विद्युत् प्राधिकरणका रिटायर्ड कर्मचारी । दाजुहरूको जागिरकै कारण रामबाबुलाई पढाइमा खासै समस्या थिएन । काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययन गर्दै गरेका रामबाबुको विषयमा परिवारले नराम्रो कहिल्यै सुनेन ।

दुर्गाकुमारीले बेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरूसँग हारगुहार गरिन् । तर, कहीँ कतैबाट सुनुवाइ नभएपछि छोरो फर्किने आस दिनदिनै झिनो बन्दै गएको छ । ‘आजकल मोबाइल (सामाजिक सञ्जाल/अनलाइन) मा मान्छेहरू धमाधम भेटिएको देखिन्छ । त्यही भएर मिडियामा आएँ,’ दुर्गाकुमारीले भनिन्, ‘अब अन्तिम आशा तपाईंहरू नै हो ।’

कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् । तर, आमाको मन न हो, दुर्गाकुमारीलाई अहिले पनि छोरा कतै जिउँदै छ भन्ने लागिरहेकै छ । रामबाबुका बाबु डम्बरबहादुरलाई पनि पत्नीले भनेजस्तै छोरा जिउँदै छ भन्ने लाग्छ । ‘कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आओस्,’ उनले भने ।
लमजुङमा अझ सरकारी र विद्रोही पक्षबीच बेलाबेला झडप भइरहन्थ्यो । जिल्लामा कैयौँ मानिस मरेका समाचार बज्थे । त्यसैले धेरै जनाले उक्त अवस्थामा लमजुङ जाँदा रामबाबु पनि दोहोरो भिडन्तमा परेको हुन सक्ने आशंका गर्छन् । परिवारलाई भने पत्यार लाग्दैन । ‘मेरो हृदयले भन्छ– छोरो फर्केर आउँछ,’ दुर्गाकुमारीले भनिन्, ‘अब भरोसा बाबुहरू (मिडिया) कै छ, समाचार हेरेर भए पनि छोरो घर फर्किन्छ कि !’

दुर्गाकुमारी आजकल पहिलाजसरी हिँडडुल गर्न सक्दिनन् । लौराको सहाराले यताउता हिँड्छिन् । उनी मात्र होइन, पति डम्बरबहादुर पनि लौराको सहाराबिना यताउता गर्न नसक्ने अवस्थामा छन् । जेठा र माइला छोरा भिन्नै घर बनाएर बसेका छन् । यतिको उमेरमा पनि दुर्गाकुमारी आफैँ खाना पकाउँछिन्, पति–पत्नी मिलेर खान्छन् । ‘छोरो फर्किने आसले ऊर्जा आउँछ । सक्दै छु अझै त,’ उनी भन्छिन् । सरकारले पनि छोराको खोजी गरिदेओस् भन्ने दुर्गाकुमारीको अपेक्षा छ । ‘कि सास, कि लासको एकिन गर्दिनुपर्यो नि !,’ उनले भनिन् ।

भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे । युद्धकै अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था पत्ता लगाउन खोजे । आर्मी, प्रहरीका उच्च पदस्थहरूसँग पनि सोधखोज गरे । तर, भाइको विषयमा कतैबाट एकिन जानकारी पाएनन् । कान्छा छोरा फर्किने आसमा दुर्गा कुमारीले अझै अंशबन्डा गरेकी छैनन् । ‘जेठो र माइलोले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेकम मरे/बाँचेको टुंगो त लाग्नुपर्यो नि !’

संक्रमणकालीन अवस्थामा बेपत्ता भएकाहरूको खोजी र छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेका छन् । कानुनसमेत बनिसकेको छ । तर, अझै बेपत्ता भएकाहरूको नामसमेत सूचीकृत हुन सकेको छैन । अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ वटा उजुरी दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएकामध्ये ४१४ वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगको अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेकाले लगत कट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फस्र्योट भएको र तामेलीमा राखिएकामध्ये ८ वटा उजुरीमा कारबाही प्रक्रिया अघि बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वाजनिक गरिएको विवरणमा उल्लेख छ ।

मधेस प्रदेशमा पनि अहिलेसम्म २१५ वटा उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएका १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएका ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर, सूचनाको पहुँच तथा सरोकारवालाको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ, न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले दुर्गाकुमारीजस्ता सयौँ परिवारका सदस्यले रामबाबु जस्तै बेपत्ता बनेकाहरूको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिक्रिया