घरजग्गा व्यवसाय चलायमान बनाउन विशेष रणनीतिको खाँचो

नेपाल राष्ट्र बैंकको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन, २०७८ मा घडेरी जग्गाको वार्षिक मूल्यवृद्धि २७ दशमलव ७ प्रतिशत रहेको उल्लेख छ । राष्ट्र बैंकको घरजग्गासम्बन्धी पछिल्लो प्रतिवेदन हो यो । २०६३ सालदेखि उकासिएको घडेरी जग्गाको मूल्यवृद्धि २०७८ सालदेखि ह्वात्तै घटेको छ । घडेरी जग्गाको मूल्य कुन अनुपातमा घटिरहेको छ ? भन्ने अधिकारिक सर्भेक्षण भएको छैन, तर घरजग्गाको विषयमा अध्ययन गरेका चार्टर्ड एकाउन्टेन्ट नुमानाथ पौडेलका अनुसार विगत ३ वर्षयता घडेरी जग्गाको मूल्य सरदरमा वार्षिक २२ प्रतिशतले घटिरहेको छ । कतिपय अर्थशास्त्रीहरूले देशको अर्थतन्त्रका लागि जग्गाको मूल्य बढ्नुभन्दा घट्नु फाइदाजनक हुने तर्क राख्ने गरेका छन् । जग्गाको मूल्य महँगिदा उत्पादन लागत बढ्ने भएकोले सरसर्ती हेर्दा यो तर्क गलत होइन । तर यो तर्क नेपालको वर्तमान अवस्थामा मेल खाइरहेको छैन ।

जग्गाको मूल्य तथा कारोबार घट्दा देशको समग्र अर्थतन्त्रमै गम्भीर असर देखिएका छन् । उदाहरणका लागि कतिपय सहकारी संस्था धराशायी हुनुमा जग्गाको मूल्य तथा कारोबार घट्नु मख्य कारणका रूपमा देखापरेको छ । अस्वभाविक रूपमा भएको जग्गाको मूल्यवृद्धि तथा कारोबारलाई राज्यका नियामक निकायहरूले समयमै ध्यान दिएको भए आज यो समस्या आउने थिएन । सहकारी संकटको असर घरजग्गाको मूल्य तथा कारोबारमा पर्ने र घरजग्गाको मूल्य तथा कारोबारको संकटको असर सहकारीमा पर्ने अवस्था सिर्जना हुनुमा राज्यको कमजोरी हो ।

सरकारले समयमै ध्यान नदिने र घरजग्गाको कारोबारको गिर्दो अवस्था यथावत रहने हो भने सहकारीपछि अब संकटमा पार्ने पालो बाणिज्य बैंकहरूको हो । जसको पूर्वसंकेत देखिइसकेको छ । यो समस्या एक्कासि सिर्जना भएको होइन । २०६३ सालदेखि सुरु भएको समस्याले अहिले विष्फोटको रूप लिएको मात्रै हो । किनकी घरजग्गाको मूल्यवृद्धि तथा कारोबार नितान्त अस्वाभाविक ढंगले भइरहेको थियो ।

वार्षिक २७ प्रतिशत मूल्यवृद्धि भएको अवस्थामा कतिपय सहकारी सञ्चालकहरूले २० प्रतिशतसम्म व्याज दिएर निक्षेप संकलन गरे । त्यो निक्षेप घरजग्गामा लगानी गरे । यता बैंकमा ६ प्रतिशत ब्याजमा निक्षेप जम्मा गर्नुभन्दा सहकारीमा २० प्रतिशत ब्याजमा निक्षेप जम्मा गर्न सर्वसाधारणले उचित ठाने ।

घरजग्गा धितो राखेर बैंकबाट १० प्रतिशत व्याजमा ऋण लिने र त्यो रकम घर जग्गामा लगानी गर्ने वा २० प्रतिशत ब्याज आउने गरी सहकारीमा राख्नेहरू पनि उल्लेख्य थिए । जसका कारण कृषियोग्य जमिनसमेत धमाधम प्लटिङ हुन थाल्यो । घडेरी जग्गामै कुर्सी टेबुल राखेर खुद्रा पसलझैँ जग्गाको खरिद बिक्री हुन थाल्यो । देशको कुल घर परिवार संख्याभन्दा पनि बढी घडेरी जग्गाहरू बिक्री भएको समाचार आउँदासमेत सरकारले ध्यान दिएन । जसको असर अहिले देखिएको हो ।

घरजग्गाको मूल्य एवं कारोबारमा आएको सिथिलताका कारण उत्पन्न भएको समस्या समाधान गर्न पक्कै पनि सहज छैन । तर सरकारसामु यो समस्या समाधान गर्नुबाहेक अर्को उपाय तथा विकल्प पनि छैन । सहकारीका निक्षेपकर्ताको डुबेको रकम फिर्ता हुनका लागि घरजग्गाको कारोबार बढ्नैपर्छ ।

सरकारीको समस्या बैंकहरूमा प्रवेश हुन नदिनका लागि पनि घरजग्गाको कारोबारलाई चलायमान बनाउनुबाहेक तत्कालका लागि अर्को विकल्प देखिँदैन । तर कारोबार वृद्धि गर्ने कसरी ? भन्ने प्रश्नको उत्तर त्यति सहज देखिँदैन । अझै पनि मूल्य चर्को भएका कारण उत्पादनको प्रयोजनका लागि जग्गा खरिद गर्न सक्ने अवस्था देखिँदैन ।

जन्मदर घटेको र विदेश पलायन हुने क्रम बढेका कारण घडेरी प्रयोजनका जग्गाहरू पनि विगतको जस्तो खरिद बिक्री हुने अवस्था छैन । यस्तो स्थितिमा घरजग्गा व्यवसायलाई टेवा दिन विशेष रणनीति नै आवश्यक छ । यस्तो रणनीति, जसले एकातर्फ सहकारीमार्फत डुबेको लाखौँ बचतकर्ताको निक्षेपप्रति न्याय र सँगसँगै घरजग्गा व्यवसायलाई पनि चलायमान बनाउन सकोस् ।

प्रतिक्रिया