सहकारी समस्याको बाछिटा घरजग्गामा

काठमाडौँ । सम्भावित जोखिमलाई ख्याल नगरी तत्कालिक फाइदाका लागि घरजग्गामा लगानी गर्नेहरू यतिबेला पुर्पुरोमा हात लगाएर बस्नुपर्ने अवस्थामा पुगेका छन् । सबै ठिकठाक चलिरहेकै समयमा भविष्यमा जोखिम आउन सक्नेतर्फ ध्यान दिएको भए न आज लगानी गर्नेहरूले रुनुपथ्र्यो न सहकारी क्षेत्रमै यति धेरै समस्या आउँथ्यो । सहकारीमा आएको विकराल अवस्थाको कारण घरजग्गा कारोबार पनि नराम्ररी प्रभावित भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्षमा विष्णुप्रसाद घिमिरेका अनुसार सहकारी र घरजग्गा कारोबार एकअर्काका परिपुरकजस्तै हुन् । ‘बैंकले हत्तपत्त विश्वास नगर्ने, राष्ट्रबैंकको कसिलो नीति, व्याजदरको विषय र राष्ट्रबैंकले आयस्रोतको भेरिफाइमा कडाइ गरेको कारण सहकारीबाट नगद लिएर घरजग्गा व्यवसाय गर्नेहरू नजिक भएका हुन्’, घिमिरेले भने, ‘सजिलो प्रक्रियाका कारण नागरिकहरूले पनि सहकारीलाई नै कारोबारको प्रमुख माध्यम बनाउँदै लगेका थिए ।’

पछिल्लो समयमा सहकारी क्षेत्रमै ठूलो संकट आउनुमा सञ्चालकले बचत रकम आफूखुसी घरजग्गामा लगानी गर्दा आएकोे नियामक निकायहरूको निष्कर्ष छ । बढी नाफा र चाँडै धनी बन्ने सोचले नेपालका अधिकांश सहकारी सञ्चालकहरू आर्थिक हिसाबले डुबेका छन्, भने आमसर्वसाधारणको पसिनाको रकम डुबाएर ‘रुनु न हाँस्नु’ पारिदिएका छन् । ठुला सहकारी सञ्चालकहरूले आमनागरिकको बचत रकम अन्धाधुन्ध जग्गा र बंगलामा खर्च गर्दा आज सहकारी क्षेत्र उठ्नै नसक्ने गरी प्रभावित भएको विश्लेषण हुन थालेको छ ।

हाउजिङ, निजी कम्पनी र जग्गामा पैसा खन्याउँदा सहकारी समस्याग्रस्त

ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले ८ हजार बचतकर्ताको पैसा घर जग्गामा लगानी गर्दा सहकारी डुब्यो । र, बस्नेत जेल जानुपर्ने अवस्था आयो । घरजग्गा र हाउजिङमा लगानी गरेकै कारण सिभिल को–अपरेटिभ पनि धराशायी बन्यो । उक्त सहकारीका संस्थापक इच्छाराज तामाङ अहिले जेलमा छन् । यस्तै लगानी गरेकै कारण बचतकर्ताको रकम फिर्ता गर्न नसकेर पशुपति बचत तथा ऋण सहकारी संस्थाका सस्थापक अध्यक्ष तथा कांग्रेस नेता डिबी लामा पनि जेलमा छन् ।

एमाले नेता केबी उप्रेती अध्यक्ष रहेको यमुना–आइडियल सहकारी, जयश्री लालिगुराँस सहकारी, सुमेरु सहकारी, देउराली सहकारी, शिवशिखर सहकारी, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको इमेज सहकारीलगायत सयौँको संख्याका सहकारी घरजग्गा तथा निजी कम्पनीमा लगानी गरेकै कारण बचतकर्ताको रकम फिर्ता गर्ने नसक्ने अवस्थामा पुगेका छन् ।

त्यस्तै, गुडविल बचत तथा ऋण सहकारी र आनन्दनगर बचत तथा ऋण सहकारी पनि घरजग्गामा लगानीकै कारण समस्यामा परेका छन् । घरजग्गामा पैसा खन्याएर समस्याग्रस्त अवस्थामा पुगेका सहकारीहरूको सूची निकै लामो छ ।

हाइप्रोफाइल व्यक्तिहरूले सञ्चालन गरेका सहकारीको रकम मनोमानी रूपमा घरजग्गा तथा निजी कम्पनीमा लगानी गर्दा समस्या उत्पन्न भएको सहकारीका अभियन्ताहरूले बताएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अुनसार समस्याग्रस्त रहेका सबै सहकारीहरू घरजग्गामा गरेको लगानी कारण धराशायी बनेका हुन् ।

सहकारीका सञ्चालक आफैँले पैसा चलाउने, बिनाधितो घर जग्गामा ऋण दिने, चर्को ब्याज दिएर निक्षेप लिने गरेका कारण समस्या आएको राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेलले बताए । सहकारीको मूल्य मान्यता तथा सिद्धान्तभन्दा बाहिर गएर घरजग्गामा लगानी गर्दा अधिकांश सहकारीमा समस्या आएको उनले बताए । उनले भने, ‘घर जग्गा हाउजिङ तथा निजी कम्पनीमा लगानी गर्ने करिब १८० जति सहकारीमा समस्या देखिएको छ । २०० जति नियतवश नभई परिस्थितिवश समस्यामा परेको देखिन्छ ।’ यस्ता समस्याग्रस्त कतिपय सहकारीका सञ्चालक सदस्य तथा पदाधिकारीहरू जेलमा छन्, भने कोही फरार छन् ।

बचत तथा ऋणको कारोबार गर्नेहरू र बहुउद्देशीय नामका सहकारीहरूमा समस्या देखिए पनि कृषि सहकारी तथा मूल्य मान्यताअनुसार चलाइएका थ्रुप्रै बचत तथा ऋण सहकारीमा समस्या नदेखिएको कँडेलले बताए ।

घरजग्गा कारोबारमा ३० प्रतिशत असर

कोभिड महामारीको कारण अर्थतन्त्रमा आएको संकुचनका कारण घरजग्गा व्यवसाय नराम्ररी प्रभावित हुनपुग्यो । महामारीसँगै घरजग्गा व्यवसायप्रति नेपाल राष्ट्रबैंकले लिएको नीतिगत व्यवस्थाले पनि कारोबार निकै घट्न पुगेको बताइन्छ ।

अर्थतन्त्रकै मेरुदण्ड मानिएको घरजग्गा कारोबारमा हाल झिनो सुधार मात्र भएको जग्गा तथा आवास विकास महासंघका अध्यक्ष घिमिरेले बताए । उनका अनुसार सहकारी समस्याको कारण घरजग्गा कारोबारमा करिब ३० प्रतिशत जति असर परेको छ ।

घिमिरेले आयस्रोत प्रमाणित गरेर मात्र ऋण लिन पाइने व्यवस्थाले घरजग्गा व्यवसाय प्रभावित भएको बताए । उनले भने, ‘घर जग्गा किन्दा ५ करोडसम्मको ऋण लिँदा जाथजेथा नदेखाइकन लिन सक्ने नीति बनायो भने, भोलिदेखि नै यो व्यावसाय बढ्छ ।’ सहकारीमा ऋण लिन वा रकम राख्न आयस्रोत प्रमाणित गर्नु नपर्ने भएकाले ठूलो रकमको कारोबार हुने गरेको छ ।

सहकारी क्षेत्रमा आएको समस्याले गर्दा घर जग्गा व्यवसाय नै धरापमा परेको भन्नुचाहिँ गलत भएको अध्यक्ष घिमिरेको तर्क छ । ‘सहकारी क्षेत्रमा १–२ जनाले बदमासी गर्दा सबैलाई दोष दिन मिल्दैन । घरजग्गामा लगानी गरेको देखाएर रकम अन्तै लग्नेहरूको कारण पनि समस्या आएको हो, उनले भने ।

सहकारी समस्या आएपछि बैंकहरू घरजग्गामा लगानी गर्न राष्ट्र बैंकको नीतिले पछि हटेका छन् । अहिले आवास ऋणको हकमा आम्दानी अनुपात ५० लाख रुपैयाँसम्मको भए ६० प्रतिशत र त्यसभन्दा माथि २ करोड रुपैयाँसम्म ५० प्रतिशत हुने व्यवस्था छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारसँग कर्जा आम्दानी अनुपातको हकमा कम्तीमा ८० प्रतिशत र कर्जाको मूल्य अनुपातको हकमा न्यूनतम ७० प्रतिशत हुनुपर्ने माग गर्दै आएको छ । करिब १५ वर्षअघि २०६५÷०६६ सालतिर यो ८० प्रतिशत नै थियो । त्यसपछि बिस्तारै घट्दै महामारीको कारण गरिएको लकडाउनपछिको अवस्थामा ४० प्रतिशतसम्म झारियो । पछिल्लो समय भने १० प्रतिशत बढाएर ५० प्रतिशतमा पु¥याइएको छ ।

घरजग्गाको पछिल्लो कारोबार

देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि चालु आर्थिक वर्षको पुसको तुलनामा माघ महिनामा भने राजस्व संकलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघ महिनामा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ खराबर राजस्व संकलन भएको छ । गत पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

चालु आर्थिक वर्षको ७ महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको ७ महिनामा राजस्व संकलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको थियो ।

माघमा काठमाडौँ उपत्यकाभित्रका विभिन्न ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको विवरणमा देखिन्छ । यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलंकी मालपोतबाट २६ करोड १ लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व संलन गरेको छ ।

कुन वर्षमा कति कारोबार ?

प्राप्त विवरणअनुसार लिखत पारितका हिसाबले हेर्दा आव २०७६–०७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख राजस्व संकलन भएको थियो । आव २०७७–०७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब ७ करोड १५ लाख राजस्व संकलन भएको थियो । आव २०७८–०७९ मा सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । उक्त वर्ष १८ लाख १४ हजार ७३९ घरजग्गा कारोबार भएको छ । त्यस कारोबारबाट ६८ अर्ब १८ करोड ५९ लाख राजस्व संकलन भएको छ । आव २०७९–८० मा झन्डै २६ प्रतिशतले घटेर १३ लाख ३६ हजार ६३३ घरजग्गा कारोबार भएको छ । त्यसबाट ३७ अर्ब ७५ करोड ८८ लाख राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०८० साउनदेखि २०८१ वैशाख १५ सम्मको तथ्यांकमा भने ११ लाख ३९ हजार ११४ घरजग्गा कारोबार भएको थियो । त्यसबाट राजस्व ३४ अर्ब ७ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया