तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । ३ महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ८ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो ।
लाइन काटिएका आठ सय ८८ ग्राहकबाट रु ४२ लाख ४२ हजार १९९ उठाउन बाँकी छ । यीबाहेक एक हजार ७३३ ग्राहकबाट रु तीन करोड १३ लाख ९२ हजार ३३६ बक्यौता उठ्न बाँकी रहेको वितरण केन्द्र प्रमुख गोशलीले जानकारी दिए । यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ ।
माघ मसान्तसम्म आठ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट ७ करोड ५९ लाख ५३१ रूपैयाँ राजश्व सङ्कलन भएको छ । अग्रिम विद्युत् महशुल पनि उठ्ने गरेको छ । चालु आर्थिक वर्षको हालसम्म रु १३ लाख ९ हजार ४ सय ९८ अग्रिम भुक्तानी हुने गरेको छ । आल अनलाइनबाट विद्युत् महशुल बुझाउने व्यवस्था छ, तर हालसम्म २४ प्रतिशतले मात्रै यो सुविधा प्रयोग गरिरहेका छन् ।
प्रतिक्रिया