हायर पर्चेज कर्जा लिनेको केवाइसी अनिवार्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा लिन केवाइसी अनिवार्य चाहिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले अनुमतिपत्रप्राप्त हायरस पर्चेज कर्जा दिने कम्पनीहरूलाई निर्देशन दिँदै यस्तो व्यवस्था गरेको हो । ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्दा कम्पनीले ऐनको दफा ७ (क) र नियमावलीको नियम ४ तथा नियम ५ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ ।

ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिनेछ । ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछ ।

सूचीकृत व्यक्ति पहिचान सम्बन्धमाः ऐनको परिच्छेद ६ (ख) बमोजिम प्रकाशन गरिएको सूची तथा नियमावलीको नियम ६९ बमोजिम गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए नभएको नियमित रूपमा यकिन गरी आदेशानुसारको कार्य गर्नुपर्नेछ ।

कम्पनीको उच्च पदमा बहाल रहेका उच्चपदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्चपदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्चपदस्थ व्यक्ति, अन्य विदेशी उच्चपदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति, कम्पनीले आफ्नो ग्राहक उच्चपदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी तथा बुँदा नं. (१) बमोजिम बनाइएको संयन्त्र प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया