आनको एड क्लबले गर्यो ‘एकदेशमाः पारस खड्का’

काठमाडौं । एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल (आन) अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपालले एमइ टिभीको सहकार्यमा झम्सिखेलस्थित मोक्षमा ‘एकदेशमाः पारस खड्का’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल क्रिकेट टिमका पूर्व कप्तान, नेपाल क्रिकेट संघका सचिव तथा हालै सम्पन्न नेपाल प्रिमियर लिगका संयोजक पारस खड्का प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले आफ्नो प्रारम्भिक संघर्षदेखि २०१४ को आइसीसी छी ट्वान्टी विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडिआई मान्यता दिलाउने सफलता, खेल प्रशासनमा संलग्नता तथा ब्रान्ड एन्डोर्समेन्टको यात्राबारे प्रेरणादायी अनुभवहरू सुनाए ।

पारसले खेलमा समर्पण र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धता कसरी ब्रान्ड एन्डोर्समेन्टको दृष्टिकोणमा समान रूपले लागु हुन्छ भन्ने विषयमा प्रकाश पार्दै, जुनसुकै क्षेत्रमा पनि इमानदारी र जोसको महत्व रहेको उल्लेख गरे ।

कार्यक्रमको प्रारम्भमा विज्ञापन क्षेत्रका पेशेवर हीनाद्वारा वाचन गरिएको एक भावनात्मक कविता प्रस्तुत गरिएको थियो, जसले माहोललाई थप प्रेरणादायी बनायो । कार्यक्रमको समापनमा एड क्लब अफ नेपालका गभर्नर बिधान राजभण्डारी र एडभर्टाइजिङ एशोसिएसन अफ नेपालका अध्यक्ष सुदीप थापाले पारस खड्कालाई सम्मान स्वरूप विशेष स्मृति चिन्ह प्रदान गरे ।

प्रतिक्रिया