परराष्ट्रमन्त्री डा राणा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी छन् । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री डा देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गरेकी छन् ।

ती भेटवार्ताका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ सम्मका लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी घोषणा गरेको नेपाललाई सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् ।

साथै जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य ‘थिम’ बनाएर आगामी ‘मे’ मा नेपालमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रममा बढीभन्दा बढी अन्तरराष्ट्रिय समुदायलाई सामेल गराउने तयारी भइरहेको जानकारी दिँदै उनले जलवायु परिवर्तनसम्बन्धी सो कार्यक्रममा सहभागी भइदिन समकक्षी एवं नेताहरुलाई आमन्त्रण गरिन् ।

त्यसैगरी, भेटवार्ताका क्रममा मन्त्री डा राणाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरु तथा मन्त्रीहरुसँग आग्रह गरिन् ।

सोमबार मन्त्री डा देउवाले नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ताका क्रममा नेपालको शान्ति प्रक्रियाका साथै आर्थिक–सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि नर्वे सरकारलाई धन्यवाद दिइन् । उनले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायका बारेमा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालले आवाज उठाउँदै आएको प्रसंग उल्लेख गर्दै नर्वे सरकारबाट आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

साथै, नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको अवस्थामा नेपाललाई पर्नसक्ने सहयोगका लागि नर्वेका उपविदेशमन्त्रीसँग अनुरोध गरिन् । त्यसैगरी, मन्त्री डा राणाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग भेटवार्ता गरिन् ।

त्यस क्रममा उनीहरुबीच जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका साझा मुद्दाहरुलाई अन्तरराष्ट्रिय मञ्चहरुमा उजागर गरी जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यस्तै, मन्त्री डा राणाले फिलिपिन्सका उपविदेशमन्त्री चाल्र्स सी जोसेसँग पनि भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका बारेमा कुराकानी भएको थियो ।

फिलिपिन्ससँग जलवायु परिवर्तनका ‘ऐजेन्डा’मा दुवै देश आगामी दिनमा साझा एजेन्डाका साथ कसरी अघि बढ्ने भन्ने विषयसहित साझा हित र चासोका बारेमा कुराकानी भएको थियो । यी भेटहरुमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

यसअघि मन्त्री डा देउवाले सोमबार नै संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गरेकी थिइन् । सो अवसरमा नेपालका तर्फबाट आगामी सन् २०२७ देखि २०२९ को कार्यकालका लागि राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदबारी घोषणा गरिएको थियो ।

उनले सो सत्रलाई सम्बोधन गर्ने क्रममा मानव अधिकारको संरक्षण र संवर्द्धनका क्षेत्रमा नेपालले व्यक्त गर्दै आएको प्रतिबद्धताको चर्चा गर्दै मानव अधिकार परिषद्को सदस्य पदमा उम्मेदवारी दिएको नेपाललाई सहयोग गरिदिन सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेकी थिइन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा जारी रहेको मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका मन्त्री तथा नेताहरुको सहभागिता रहेको छ ।

सो सत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मानवअधिकार तथा अन्तरराष्ट्रिय सन्धिसम्झौता महाशाखा प्रमुख सहसचिव राजेन्द्र थापासहित परराष्ट्र मन्त्रालय र जेनेभास्थित नेपाली स्थायी नियोगका अधिकारी सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।

राष्ट्रसंघीय मानवअधिकार परिषद्को यस उच्चस्तरीय सत्रमा सहभागी विश्वका नेता तथा मन्त्रीहरुले मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपालको भूमिका तथा शान्ति प्रक्रियामा नेपालले अपनाएको ढाँचा उदाहरणीय रहेको भन्दै सराहना गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया