काठमाडौँ । बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवानिकट रहेका पत्रकारिता पृष्ठभूमिका ओझाले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् भने नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम गरेको अनुभव छ । ३३ वर्षीय ओझाले अबको ४ वर्ष प्राधिकरणको नेतृत्व सम्हाल्नेछन् ।
अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बिमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो । आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बसौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं सर्टलिस्टमा परेका थिए ।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।
त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने चर्चा चले पनि बैठकमा उक्त विषयले प्रवेश नै पाएन । स्रोतका अनुसार ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने प्रस्ताव बैठकमा लगेका थिए । तर, मन्त्रिपरिषद् बैठकमा उक्त विषयमा कुनै छलफल हुन सकेन ।
यसअघिको मन्त्रिपरिषद् बैठकमा पनि सरकारलाई असहयोग गरेको भन्दै ऊर्जामन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव लगेका थिए । तर, त्यसबेला कांग्रेसकै मन्त्रीहरूले असन्तुष्टि जनाएपछि सफल भएको थिएन । ऊर्जामन्त्री खड्का र प्रधानमन्त्री केपी शर्मा ओली नै कुलमानको विपक्षमा भए पनि उनलाई हटाउन भने सकस पर्दै आएको छ ।
कुलमानको पक्षमा कांग्रेसका नेताहरू नै उभिएका कारण प्रधानमन्त्रीले पनि ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लाने हिम्मत गर्न सकेका छैनन् । विशेष गरी माओवादीसँगको गठबन्धनमा कांग्रेस नेतृत्वकै सरकारले कुलमानलाई नियुक्त गरेका कारण पनि यस विषयमा हतारमा निर्णय गर्न कांग्रेसलाई नैतिक संकट पनि छ ।
प्रतिक्रिया