काठमाडौँ । अर्थ मन्त्रालयले डिजाइन नभएका कार्यक्रमहरूमा अमेरिकी सहयोग नियोग युएसएआइडीबाट सहयोग नआएको जनाएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले डिजाइनको क्रममा रहेका ३ कार्यक्रमहरूका लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको जनाएको हो । युएसएआइडी अन्तर्गतका ३ वटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको मन्त्रालयले जनाएको छ ।
युएसएआइडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख छ ।
मन्त्रालयका अनुसार युएसएआइडी नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरीमा जारी गरेको कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित ४ वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको छ ।
प्रतिक्रिया