प्युठानमा दम्पती मृत्यु प्रकरण : प्रहरीले गर्यो तालिम प्राप्त कुकुर परिचालन

प्युठान । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा एक वृद्ध दम्पत्ति मृत फेला परेको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । शनिबार दिउँसो बंगलाचुली नजिकै रातापानी लेकस्थित एक घरका दम्पती मृत फेला परेको सूचना पाएपछि पुगेको टोलीले अनुसन्धान जारी राखेको हो ।

६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियार घरको कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिए । घटनाको प्रारम्भिक अनुसन्धानमा दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताए ।

घटनाको थप अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान भइरहेको छ । शंकास्पद व्यक्तिसँग प्रहरीले सोधपुछ पनि गरिरहेको जनाएको छ ।

घटना भएको घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको र हत्याराले घन प्रहार गरेर हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यस घटनाकमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया